राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु आजको मुख्य चुनौती रहेको राष्ट्रपति पौडेलको भनाई 

राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु आजको मुख्य चुनौती रहेको राष्ट्रपति पौडेलको भनाई 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । 

उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गरे । 

राष्ट्रपति पौडेलले सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन सकेन भने जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उल्लेख गरेका छन् । उक्त लक्ष्य हासिल गर्न प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै कृषिको आधुनिकीकरणसहित उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाई छ ।

राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गर्दै दिवसको शुभकामना व्यक्त गरेका छन् ।