बैंकिङ कसुर मुद्दामा एक इन्जिनियर पक्राउ, जरिवाना बिगो समेत २९ लाख रुपैयाँ तिर्नु पर्ने

बैंकिङ कसुर मुद्दामा एक इन्जिनियर पक्राउ, जरिवाना बिगो समेत २९ लाख रुपैयाँ तिर्नु पर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।

लुकिछिपी बस्दै आएका एक इन्जिनियर बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रकाउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १० गौरीगाउँका ३६ वर्षीय सिभिल इन्जिनियर यज्ञबहादुर केसी रहेका छन् । बैंकिङ कसुरमा पक्राउ परेपछि अहिले उनी कारागार चलान भएका छन् । 

सर्वोच्च अदालतले २०७९ साल माघ ४ गते बैंकिङ कसुर मुद्दामा साढे १४ लाख जरिवाना फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार केसीले जरिवाना बराबरको बिगो समेत गरी २९ लाख रुपैयाँ तिर्नु पर्ने छ। जिल्ला प्रहरी प्रवक्ता जनकबहादुर मल्लका अनुसार सर्वोच्चको फैसलापछि इन्जिनियर केसी लुकिछिपी बस्दै आएका थिए। भदौ ३० गते घोराही उपमहानगरपालिका– १५ स्थित हिलटन होटलबाट उनलाई पक्राउ गरिएको डीएसपी मल्लले बताए।

उनलाई प्रहरीले आइतबार जिल्ला अदालत दाङमा पेश गरेको थियो। अदालतले उनलाई आइतबार नै फैसला कार्यान्वयनको लागि कारागार चलान गरेको डिएसपी मल्लमल्लले बताए। अदालतले तोकेको रकम तिरे इञ्जिनियर केसी जेलमुक्त हुन पाउने छन्। प्रहरीले लुकिछिपी बस्दै आएको दाबी गरेपनि इञ्जिनियर केसी लुम्बिनी प्रदेश सरकारको दाङस्थित प्रदेश सभा भवन निर्माण कार्यमा पनि खटिएका थिए।