फुडमाण्डुले मनायो १५औँ वार्षिकोत्सव, ‘खानासँगै खुसी’को यात्रामा नयाँ प्रतिबद्धता


काठमाडौं – नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। सन् २०१० नोभेम्बर ११ मा सानो स्टार्टअपका रूपमा स्थापना भएको फुडमाण्डुले अहिलेको यात्रासम्म आइपुग्दा देशकै अग्रणी फुड डेलिभरी ब्रान्डको रूपमा आफूलाई मजबुत बनाएको छ।

१५ वर्षअघिको सानो सुरुआतबाट सुरु भएको फुडमाण्डुले आज हजारौँ ग्राहक, सयौँ रेस्टुरेन्ट पार्टनर र सयौँ डेलिभरी राइडरहरूलाई जोड्दै नेपाली फुड उद्योगमा डिजिटल क्रान्ति ल्याएको छ। हाल कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलमा सेवा प्रदान गर्दै १,००० भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गरेको छ। यसमार्फत फुडमाण्डुले ग्राहकलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउनुका साथै धेरै युवालाई रोजगारीको अवसर पनि सिर्जना गरेको छ।

वार्षिकोत्सवको अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले कम्पनीको १५ वर्षे यात्रालाई नेपाली डिजिटल बजारको सफल उदाहरणका रूपमा चित्रण गरे। उनले भने, ‘पन्ध्र वर्षअघि ग्राहकलाई घरमै मनपर्ने खाना सहजै पाउने सोचका साथ हामीले फुडमाण्डुको सुरुआत गरेका थियौं। आज हामीले पाएको सफलता हाम्रो लागि गर्वको विषय हो। फुडमाण्डुले ग्राहकको खाना अर्डर गर्ने तरिका मात्र परिवर्तन गरेको छैन, रेस्टुरेन्टहरूलाई थप ग्राहकसम्म पुग्न र व्यवसाय विस्तार गर्न पनि सहयोग पुर्‍याएको छ।’

उनका अनुसार फुडमाण्डुको यो सफलता कम्पनीका रेस्टुरेन्ट पार्टनरहरू, समर्पित राइडरहरू र सन्तुष्ट ग्राहकहरूकै योगदानका कारण सम्भव भएको हो। फुडमाण्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले पनि यस अवसरमा कम्पनीको १५ वर्षे यात्रालाई ‘अविस्मरणीय’ भन्दै निरन्तर सुधार र नयाँपनका लागि प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो लागि यो १५ वर्षे यात्रा अविस्मरणीय रह्यो। हामी पहिलो दिनजस्तै उत्साहका साथ ‘खानासँगै खुसी’ डेलिभरी गर्ने प्रतिबद्धतामा निरन्तर काम गरिरहेका छौं।’

कम्पनीले वार्षिकोत्सवको अवसरमा कात्तिक २५ देखि मंसिर १४ गतेसम्म विशेष अफर सार्वजनिक गरेको छ। यस अवधिमा काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टमा विभिन्न परिकारमा विशेष छुट उपलब्ध हुनेछ। फुडमाण्डुले आगामी दिनमा अझ बढी रेस्टुरेन्टहरू जोड्ने, सेवा क्षेत्र विस्तार गर्ने, अर्डर प्रक्रिया सजिलो बनाउने र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार ग्राहकसमक्ष पुर्‍याउने लक्ष्य राखेको छ।

साथै, कम्पनीले फुडमाण्डु वनमार्टमार्फत दैनिक उपभोग्य सामग्रीहरूको तत्काल डेलिभरी सेवा पनि सुदृढ बनाउँदै आएको छ। १५ वर्षे यात्रामा फुडमाण्डुले नेपालको फुड डेलिभरी क्षेत्रमा नयाँ अध्यायको सुरुआत मात्रै गरेको छैन, ‘खानासँगै खुसी’ डेलिभरी गर्ने आफ्नो मूल उद्देश्यलाई अझ सशक्त बनाउन पनि निरन्तर अग्रसर रहेको जनाएको छ।