शेयर लगानीकर्ताले ब्रोकर कम्पनीमा राखेको धरौटी रकमको ब्याज पाउने व्यवस्था लागु 

शेयर लगानीकर्ताले ब्रोकर कम्पनीमा राखेको धरौटी रकमको ब्याज पाउने व्यवस्था लागु 


बैकिङ्ग समाचार । 
नेपाल धितोपत्र बोर्डले शेयर कारोबारको लागि लगानीकर्ताले राखेको धरौटीको रकमको ब्याज प्रदान गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ संशोधन गरी धरौटी रकममा लगानीकर्ताले प्रतिफल पाउने व्यवस्था गरिएको जानकारी गराएको छ ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा धितोपत्र दलाल व्यवसायीलाई बुझाउनुपर्ने २५ प्रतिशत धरौटी रकममा प्रतिफल नपाएको गुनासोको सम्बोधन गर्दै सो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

अब लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउने धरौटी रकममा ब्रोकरबाट ब्याज प्राप्त गर्नेछन् ।

धरौटी रकममा सृजित हुने दायित्व तथा प्रतिफलका सम्बन्धमा पनि लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । ब्याज निर्धारण लगानीकर्ता र धितोपत्र व्यवसायीको आपसी समझदारीमा तय हुने बोर्डको भनाई  छ।

यस व्यवस्थाले धितोपत्र कारोबारका लागि लगानीकर्ताले राखेको धरौटी रकममा प्रतिफल प्राप्त हुने/नहुने सन्दर्भमा कायम रहेको अन्यौलता अन्त्य हुने बोर्डको विश्वास छ ।