काठमाडौं – सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय बनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा सूचीकरण गर्न भदौ १२ गते सूचना जारी गरेको थियो । तर उक्त सूचनामा दिइएको म्यादसम्ममा पनि सूचीकरण गर्न नआएपछि फेसबुक, एक्स, युट्युबजस्ता सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाइएको छ ।
सरकारले सामाजिक सञ्जालहरू निष्क्रिय बनाएपछि प्रयोगकर्ताहरूले पनि ती सञ्जाल प्रयोग गर्न वैकल्पिक उपाय खोज्न थालेका छन् । पछिल्ला दिनमा विभिन्न प्रकारका भीपीएन एपहरू धमाधम डाउनलोड भइरहेका छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर र एप्पल एप स्टोरमा उपलब्ध निःशुल्क भीपीएन सेवाहरू प्रयोग गरी फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल चलाइरहेका छन् । भीपीएन प्रयोग गर्दा सुरक्षामा कस्तो असर पर्छ भन्नेबारे साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको अंश –
सरकारले निष्क्रिय बनाएको सामाजिक सञ्जाल चलाउन प्रयोग गरिने भीपीएन एपले सुरक्षामा कस्तो असर पार्छ ?
भीपीएनको प्रयोग गरी हुने ठगीको केस धेरै पटक बाहिरिइसकेको छ । तर, पनि यसको प्रयोग गर्ने सर्वसाधारण फेरी अहिले बढिरहेका छन् । भीपीएन पनि विशेषगरी दुई किसिमका छन्, निःशुल्क र कमर्सियल । कमर्सियलमा पनि कुन भीपिएनको प्रयोग गर्दा सेफ भइन्छ, त्यो ध्यानमा राख्न जरुरी छ । यस्ता किसिमका भीपीएनहरू खरिद गर्दा गोपिनीयताका विषयमा सुरुमा नै उल्लेख गरेर एग्रिमेन्ट गरिन्छ । त्यस्तै, कमर्सियल भीपीएनको तुलनामा निःशुल्क पाइने भीपीएन तुलनात्मक रूपमा बढी जोखिमपूर्ण हुने गरेको छ ।
निःशुल्क भीपीएनको प्रयोगको जोखिम कस्ता छन् ?
निःशुल्क भीपीएन कम्पनीहरूले कस्तो माध्यम अपनाएका छन् भन्ने विषय बढी महत्त्वपूर्ण हुन्छ । आफूले चलाइरहेको साइटहरू कस्तो हो, कति समय इन्टरनेटमा व्यतीत गर्नु हुन्छ, आफूले चलाइरहेको मोबाइलको मोडल कस्तो छ, त्यस अनुसार नै निःशुल्क भीपीएनले ठगी गर्न सक्छ । कमजोर भीपीएनको प्रयोगले आजको दिनमा ठगी नभएता पनि भोलीका दिनमा भने ठगी हुने सम्भावना अलि बढी हुने गर्छ । साथै, हाम्रो डाटा पाएको व्यक्तिले ती तथ्यांकहरूलाई गलत कामका लागिसमेत प्रयोग गर्न सक्छ ।
सरकारले निष्क्रिय बनाएका सामाजिक सञ्जाल चलाउने उद्देश्यले प्रयोग गरिएका भीपीएनबाट हुने ठगीमा प्रहरीले कारबाही गर्न मिल्दैन । त्यसैले प्रयोगकर्ता आफैँ सचेत हुनु आवश्यक छ ।
यस्ता भीपीएनले प्रयोग गरेका मालवेयरहरूले पनि भीपीएन प्रयोगकर्ताहरूको डाटाहरू लिन सक्छ ?
भीपीएन प्रयोग गर्दा बैंकिङ्ग कारोबार गर्दा किन बढी सतर्क हुनुपर्छ ? ह्याकरहरूले निःशुल्क भीपीएन प्रयोगकर्ताहरूको बैंकको तथ्यांकलाई पनि ‘पियर–टू–पियर’ नेटर्वकहरूको रुपमा प्रयोग गरेर भोलीका दिनहरूमा ठगीका गतिविधिमा प्रयोग गर्ने सम्भावना बढी हुन सक्छ ।
साथै, यस्ता गतिविधिहरूमा आफू संलग्न नहुँदा पनि फस्ने सम्भावना बढी हुन्छ । सर्वसाधारणले प्रयोग गरेको भीपीएनबाट नागरिकता मात्रै चोरी भएता पनि उक्त व्यक्तिले त्यो नागरिकताबाट सिम निकाल्ने, बैंक खाता खोल्ने गरेर अवैध क्रियाकलापमा संलग्न भएमा अवैध कार्य गर्ने व्यक्ति जोगिने र नागरिकतावाला फस्ने सम्भावना हुन्छ ।
तर, डिभाइसमा आफ्नो धेरै महत्वपूर्ण डाटा राखिएको हुन्छ । जसले गर्दा आपराधिक सोचले भीपीएनका प्लेटफर्म बनाउने हरूलाई ठगी गर्न सजिलो हुने गर्छ । तर, टेक्नोलोजी आफैँमा गलत भने हुँदैन, त्यसलाई प्रयोग गर्ने र बनाउने व्यक्तिले गर्ने अवैध क्रियाकलाप मात्रै गलत हुन्छन् ।
के भीपीएनहरू सुरक्षित पनि हुनसक्छन् ?
सक्छन् । कुन कम्पनीको भीपीएन हो र उक्त कम्पनीको अवस्था कस्तो छ, त्यो अनुसार भीपीएनहरू सुरक्षित हुने वा नहुने निक्र्याैल गर्न सकिन्छ । भीपीएन एपमा प्रयोगकर्ताका फोटो, नम्बरको प्रयोग गरिएको हुन्छ । त्यस कारणले गर्दा यो भीपीएन राम्रो नै हो भने अवस्था रहँदैन । हाल राम्रो भनिएका भीपीएनहरू ह्याकरहरूले असुरक्षित पार्न सक्छन् ।
निःशुल्क भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको डाटा कसरी दुरुपयोग हुन सक्छ ?
भीपीएनमा प्रयोगकर्ताको फोटो तथा नम्बरहरूको प्रयोग हुने गर्छ । साथै, निःशुल्क भीपीएनमा विभिन्न प्रकारका मलवेयरहरूको पनि प्रयोग गरेका हुन सक्छन्, जसले गर्दा डिभाइसमा भएका डाटाहरू सजिलैसँग ह्याकरको हातमा पर्न सक्छ। सर्वसाधारणको डिभाइसमा भएको कमी कमजोरीहरू पत्ता लगाई गोप्य डाटा लिने गर्छन् ।
भीपीएन छनोट गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ ?
सुरुमा भीपीएनबारे एक पटक परीक्षण गर्नुपर्ने हुन्छ । कति जनाले उक्त भीपीएन डाउनलोड गरेका छन्, त्यो हेर्नुपर्छ । तर पछिल्लो समयमा भीपीएनका रिभ्यु नै झुट्टा हुने गरेका छन् । त्यसैले गर्दा झट्ट विश्वास गर्ने अवस्था भने छैन । भीपीएन प्रयोग गर्दा बैंकिङ्ग कारोबार गर्दा किन बढी सतर्क हुनुपर्छ ? त्यस्तै, उनीहरूले निःशुल्क भीपीएन प्रयोग कर्ताहरूको बैंकको तथ्यांकलाई पनि ‘पियर–टू–पियर’ नेटवर्कहरूको रूपमा प्रयोग गरेर भोलीका दिनहरूमा ठगीका गतिविधिमा समेत संलग्न हुन सक्ने सम्भावना बढी हुनसक्छ । साथै, यस्ता गतिविधिहरूमा आफू संलग्न नहुँदा पनि फस्ने सम्भावना छ ।
सरकारले टिकटकलाई प्रतिबन्ध गर्दा असुरक्षित भीपीएनका प्रयोगबाट विगतमा घटेका अप्रिय घटना कुनै छन् ?
त्यो समयमा त्यस्तो कुनै केसहरू प्रहरीमा आएका थिएनन् । आएका केसहरूलाई पनि प्रहरीमा रिपोर्ट गर्न मिल्दैन थियो । जसले गर्दा त्यस बेलामा यस्ता भीपीएनबाट हुने ठगीका केसहरू लिँदैनथ्यो । अहिले पनि सरकारले निष्क्रिय बनाएको सामाजिक सञ्जाल चलाउने उद्देश्यले भीपीएन प्रयोग गर्दा भएको ठगीमा प्रयोगकर्ता आफै जिम्मेवार हुन्छन् । यसमा प्रहरीले कारबाही गर्न सक्दैन । त्यसैले प्रयोगकर्ता आफैँ सचेत हुनुपर्छ ।





About Us
प्रतिक्रिया