जापानी अर्थतन्त्रमा ६ वर्षयताकै ठूलो कमी

जापानी अर्थतन्त्रमा ६ वर्षयताकै ठूलो कमी


बैकिङ्ग समाचार ।

सन् २०१९ को अन्तिम ३ महीनामा जापानको अर्थतन्त्र ६ वर्षयताकै तीव्र गतिले घटेको छ । सरकारले ल्याएको व्यापार करले उपभोक्ता र व्यावसायिक खर्चमा असर पारेसँगै जापानी अर्थतन्त्र खुम्चिएको हो । 

जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उक्त ३ महीनामा ६ दशमलव ३ प्रतिशत खुम्चिएको हो । यो सन् २०१४ को दोस्रो त्रैमासयताकै ठूलो कमी हो । त्यतिबेला जापानको अर्थतन्त्र ७ दशमलव ४ प्रतिशत घटेको थियो । गत वर्षको अन्तिम त्रैमासमा जापानमा आएको तुफान तथा विश्वभर मागमा देखिएको कमीले पनि अर्थतन्त्र खुम्चिनमा सहयोग पुर्‍याएको हो । कोरोना भाइरसबारे फैलिएको आशंकाको कारण यो त्रैमासमा पनि जापानको अर्थतन्त्र पुनः खुम्चिने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् । 

गत वर्षको अन्तिम त्रैमासमा जापानी उपभोक्ता खर्च पनि २ दशमलव ९ प्रतिशत घटेको थियो । सरकारले गत अक्टोबरमा व्यापार कर ८ प्रतिशतबाट बढाएर १० प्रतिशतमा पु¥याउने निर्णय गरेको थियो । यो निर्णयको नकारात्मक असर जापानी अर्थतन्त्रमा देखिएको हो । अक्टोबरमै जापानमा आएको ठूलो तूफानले पनि जापानले नोक्सानीको सामना गर्नुपरेको थियो ।  समीक्षा अवधिमा जापानको निर्यात शून्य दशमलव १ प्रतिशत घटेको थियो । अमेरिका–चीनको व्यापार युद्धको असर पनि जापानको निर्यातमा परेको हो । 

सोमवार सार्वजनिक भएको यो तथ्यांकबारे बोल्दै जापानी अर्थमन्त्री यासुतोशी निशिमुराले जापानी सरकार कोरोना भाइरसबाट अर्थतन्त्र र पर्यटनमा पर्न सक्ने असर रोक्न सबै किसिमको उपाय अपनाउन तयार रहेको बताएका छन् । गत डिसेम्बरमा प्रधानमन्त्री सिन्जो आबेको सरकारले १ खर्ब २० अर्ब डलरको खर्च पारित गरेको थियो । 

व्यापारिक कर बढाउने निर्णयबाट पर्नसक्ने असर न्यूनीकरणका लागि यो योजना अघि सारिएको थियो । जापानको अर्थतन्त्र पछिल्लो एक वर्षभन्दा लामो समययता खुम्चिएको थिएन । एजेन्सी