बैंक अफ काठमाण्डूले पनि ऋणपत्र जारी गर्ने, बोर्डमा निवेदन

बैंक अफ काठमाण्डूले पनि ऋणपत्र जारी गर्ने, बोर्डमा निवेदन


बैकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डू लिमिटेडले पनि दीर्घकालीन लगानीको स्रोत जुटाउन ऋणपत्र जारी गर्ने भएको छ । बैंकले नियामक निकाय धितोपत्र बोर्डमा एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख युनिट ऋणपत्र बिक्री गर्न निवेदन पेश गरेको हो।

बैंकले निष्काशनमा ल्याउन लागेको कूल १६ लाख इकाई ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि र बाँकी ६० प्रतिशत बराबरको ९ लाख ६० हजार इकाई बैंकले व्यक्तिगत तवरबाट अन्य संघ संस्थालाई बिक्री गर्नेछ ।

दश वर्ष अवधिको ‘बीओके ऋणपत्र–२०८६’ मा लगानी गर्ने आवेदकले वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन्। जुन हाल मुद्दती निक्षेप पाइने ब्याजभन्दा बढी हो। मुद्दती निक्षेपमा हाल बैंकहरुले हाल ९ देखि अधिकतम १० प्रतिशतसम्म मात्र ब्याजदर दिइरहेका छन्।

ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक वित्तीय विवरण अनुसार बैंकको कर्जा निक्षेप अनुपात ७६.२३ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १३.८० प्रतिशत रहेको छ । थप लगानी विस्तार गर्न र काउन्टर साइक्लिकर बफर अनुसार पूँजीकोष वृद्धि गर्न पनि वाणिज्य बैंकहरुलाई हाल पूँजीकोषमा सुधार गर्नुपर्ने बाध्यता छ ।