चुनौतीपूर्ण बन्दै फोन लोन रिकभरी, लक्ष्मी सनराइज बैंकले एकै पटक सार्वजनिक गर्‍यो ५० ऋणीको नाम 


काठमाडौं– ‘लोन रिकभरी’ नहुँदा समस्यामा परेको बैंकिङ्ग क्षेत्रमाथि ‘फोन लोन’मार्फत गरेको ऋण लगानी उठाउन समेत चुनौतीपूर्ण बन्न थालेको छ। बैंक तथा वित्तीय संस्थाले ‘डिजिटाइजेसन’लाई अँगाल्ने गरी केही समयअघिदेखि नै फोन लोन प्रवाह गर्दै आएका थिए । मोबाइल एपमार्फत सजिलै ऋण उपलब्ध हुने भएकाले यस सेवाले सेवाग्राही तान्न सफल बनेको थियो ।

तर, फोन लोन सेवा विस्तारसँगै बैंकहरू अहिले समस्या झेल्न बाध्य बनेका छन् । फोनबाट ऋणीलाई जति सहज ऋण लिन भयो अहिले बैंकहरुलाई ‘रिकभरी ’मा उति नै बढी समस्या सिर्जना हुन थालेको छ । धेरैजसोले ‘फोन लोन’मार्फत बिना धितो लिएको कर्जा तिर्ने गरे पनि बदमास सेवाग्राहीका कारण बैंक तथा वित्तीय संस्थाले दुःख भोग्न थालेका छन् । 

यस्तै, लक्ष्मी सनराइज बैंकले फोन लोन लिएर नतिर्ने ५० जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले लोन लिएपछि साँवा र ब्याज नतिर्दै  सम्पर्कमा पनि नआएका तीन पुस्ते ऋणीको नाम सार्वजनिक गरेको हो । पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी बैंकमा सम्पर्क समेत नगरेको हुँदा ३५ दिनभित्र ऋण चुक्ता गर्न बैंकले अनुरोध गरेको छ । यदि ३५ दिनभित्र कर्जा नतिरे ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको कालो सुचीमा सूचीकृत गरिने बैंकले जनाएको छ । यस्तै, कर्जा असुलीसँग आवश्यक कानुनी कारबाही गरी बैंकको लाेनन बक्यौता कर्जा रकम असुल उपर गरिने बैंकले चेतावनी दिएको छ ।