काठमाडौं – नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले नेपालमा पहिलो पटक हरित ऋणपत्र (ग्रीन बन्ड) जारी गर्ने भएको छ । बैंकले नेपाल धितो पत्र बोर्ड (सेबोन) बाट वैशाख अन्तिममा अनुमति पाएसँगै जेठ १८ देखि ग्रीन बन्ड जारी गर्ने भएको हो । बैंकले यसका लागि गत वर्षको कात्तिक २४ गते अनुमति मागेकाे थियो । अनुमति पाएसँगै कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ७ वर्षे हरित ऋणपत्र जारी गर्न लागेको जानकारी दिएको छ । यसको ब्याजदर ६ प्रतिशत हुनेछ।
ग्रीन बन्डको अवधारण ल्याउनु नेपाल जस्तो मुलुकको लागि एउटा नौलो अभ्यास हो । दिगो आर्थिक विकासका लागि वातावरणमय तथा पर्यावरणीय सुरक्षा प्रवर्द्धनका लागि नेपाल धितो पत्र बोर्ड (सेबोन) ले हरित बन्डको अवधारणालाई अघि सारेको थियो । यही अवधारणमा टेकेर बैंकले पूर्वाधारमा लगानी गर्नका लागि हरित ऋणपत्र बिक्री गर्ने भएको हो । यसअघि अन्य कम्पनीहरूले समेत नेपालमा हरित ऋणपत्र जारी गर्ने तयारी गरेपनि निफ्राले पहिलो पटक हरित ऋणपत्र बिक्री गर्ने भएको हो ।
यसले ६० प्रतिशत निजी संस्थामा र ४० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्ने योजना बनाएको छ । ऋणपत्र व्यवस्थापकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहने छ । धितो पत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरे नेपालमा ग्रीन प्रोजेक्टहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित निफ्रालाई ग्रीन बन्ड बिक्रीका लागि अनुमति दिएको बताउँछन् ।
विश्वव्यापीरुपमा जलवायु परिवर्तनको प्रभाव बढ्न थालेसँगै ग्रीन बन्ड र वातावरणमैत्री पूर्वाधार विकासको विषय जोडतोडका साथ उठिरहेको छ । यहीकारण, नेपालले समेत ग्रीन बन्ड बिक्री गर्दै वातावरणमैत्री पूर्वाधार विकासका लागि भन्दै सेबोनले यसको नीति नै ल्याएको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले समेत ‘ग्रीन इकोनोमी’लाई बढवा दिनका लागि ग्रीन ट्याक्सोनोमी ल्याइसकेको छ । यस आधारमा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंक र सूचीकृत कम्पनीलाई सेबोनले ग्रीन इकोनोमीका लागि प्रोत्साहन र नियमन गरिरहेका छन् ।
के हो ग्रीन बन्ड ? कहाँ हुन्छ लगानी ?
ग्रीन बन्ड एक किसिमको ऋणपत्र हो । जसको माध्यमबाट संकलित रकम वातावरणमैत्री परियोजनामा लगानी गरिन्छ । जसमा नवीकरणीय उर्जा, स्वच्छ यातायात, जल व्यवस्थापन र प्रदूषण नियन्त्रण जस्ता परियोजनाहरु समावेश गरिएको हुन्छ । यो एउटा महत्त्वपूर्ण पुँजी बजारको वित्तीय औजार हो । ग्रीन बन्डले जलवायु सम्बन्धित वा वातावरणीय परियोजनाहरू माथि लगानी गर्छ।
प्राकृतिक तथा वातावरणीय क्षेत्रमा लगानी गर्ने गरी जारी गरिने यस्तो बन्डले मुलुकको दिगो आर्थिक विकाससँगै पर्यावरणीय संरक्षणमा समेत सकारात्मक भूमिका खेल्छन् । यस अन्तर्गत विशेषगरी जलवायु तथा पर्यावरणमैत्री पूर्वाधार, जलविद्युत् तथा नवीकरणीय ऊर्जा, वातावरणमैत्री यातायातसँगै जलस्रोतको संरक्षण लगायतका परियोजनामा लगानी गरिन्छ ।



About Us
प्रतिक्रिया