१० ठूला वाणिज्य बैंकको ऋण ‘पोर्टफोलियो’ मूल्यांकन गर्न बंगलादेशी कम्पनी छनौट


काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालका १० ठूला वाणिज्य बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ को प्रक्रिया पुन अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो ।

लेखापरीक्षणका लागि बङ्गलादेशको हाउल्याडर युनुस अडिट (लेखापरीक्षण) फर्म छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यसअघि १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालि छनोट भएको थियो । तर, कम्पनीको प्रस्ताव अन्तर्राष्ट्रिय मुद्रा कोष बैंकले रद्द गरी पुनः बोलपत्र आह्वान गरेको थियो ।

केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय लेखा परीक्षण फर्मबाट आएको आवेदन मार्फत गत फागुनमा १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु गर्नको लागि ६ वटा कम्पनीको सर्टलिस्ट प्रकाशित गरेको थियो । श्रीलंका, बंगलादेश, भारतका कम्पनीहरु सर्टलिस्टमा परेका थिए । अब यहि कम्पनीले नै १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नेछ ।