मुक्तिनाथ विकास बैंकको अन्तरबैंक टेलर क्यूआर सेवा सुरु


काठमाडाैं – मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ । योसँगै अब ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् । 

सेवाको सुरुवातबाट ग्राहकहरुले परम्परागत रूपमा चेक तथा एटीएमको प्रयोगमार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने छ । सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् । यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरु गरी निकट भविष्यमा देशभरका शाखामा बिस्तार गरिनेछ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुका साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ । 

त्यसैगरी, मोबाइल बैंकिङ्ग, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग , खातामै रेमिट्यान्स जम्मा लगायतका अन्य काम बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।