‘सरकारको आयु घटबढ हुनसक्छ, गभर्नर नियुक्ति गर्न नसकेर हायलकायलको अवस्थामा छ’


काठमाडौं – प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रियाले सरकारको आयु घटबढ हुन सक्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले सरकार गभर्नर नियुक्ति गर्न नसकेर हायलकायलको अवस्थामा रहेको बताए । 

चौधरीले, ‘ राष्ट्र बैंक ऐन २०५८ को दफा २५ ले बहालवाला गभर्नरको कार्यकाल समाप्त हुनु एक महिना अगाडि नै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ । तर, सरकार आफैले यो ऐन व्यवस्थाको धज्जी उठाएको छ । कारबाही कसलाई गर्ने हो ? सरकारको आयु नै घटबढ होला जस्तो छ गभर्नर नियुक्ति प्रक्रियाले, जुन अत्यन्तै लज्जास्पद छ ।’ उनले भने । 

सरकार गभर्नर नियुक्ति गर्न नसकेर बसिरहेको समयमा जनताको  पीडा भने अर्कै रहेको चौधरीले बताए । उनले बैंकहरुले सर्वसाधारणको निक्षेप न्यून ब्याजदरमा सङ्कलन गर्दे उच्च ब्याजदरमा ऋण प्रवाह गरिरहेको आरोप लगाए ।