निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमाथि कारण देखाऊ आदेश


काठमाडौं – नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा सदस्य नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । 

मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिकारीविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी गर्दै आगामी ४ जेठमा दुबै पक्षलाई बहसका लागि बाेलाएकाे हाे।

अधिवक्ता नवीन धितालले अधिकारी राष्ट्र बैंकका गभर्नरमा बहाल रहँदा उनलाई पूर्व गभर्नरको हैसियतमा सिफारिस समितिमा नियुक्त गर्नु संविधानविपरीत रहेको दाबी गर्दै रिट दायर गरेका थिए । रिटमा अधिकारीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाइएको छ ।