सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीले छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

पार्टीले सार्वजनिक भएका समाचार, श्रव्य सामग्री तथा सुनारका विषयमा उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।

रास्वपाले विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताप्रति प्रतिबद्ध पार्टीका रूपमा आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

सुनारसम्बन्धी विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको रास्वपाले जनाएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआएसम्म उनलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको पार्टीको भनाइ छ।

यसैगरी, सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रास्वपाले सरकारी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिइने स्पष्ट पार्दै पार्टीले यस विषयमा निष्पक्ष छानबिन र जवाफदेहिताको प्रतिबद्धता दोहोर्‍याएको छ।