काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा गरिएका वित्तीय क्षेत्र तथा विदेशी विनिमयसँग सम्बन्धित अधिकांश नियामकीय व्यवस्थाहरु कार्यान्वयनमा आएकाे बताएकाे छ । मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा चालु आर्थिक वर्षको ६ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.९७ प्रतिशत रहेको केन्द्रीय बैंकले उल्लेख गरेकाे छ ।
कम्तिमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायमगर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ पुस मसान्तमा कायम विदेशी विनिमय सञ्चिति करिब १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
यस्तै, चालु आव २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशतसम्म र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा २०८१ पुस मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १०.२ प्रतिशतले र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले वृद्धि भएको छ ।
ब्याजदर उतारचढाव व्यवस्थापनका लागि कार्यान्वयनमा ल्याइएको ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउँदै लगिएको छ। ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशत र तल्लो सीमा ३.० प्रतिशत रहेकोमा २०८१ माघमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तर बैंक दर ३.०० प्रतिशत कायम छ । गभर्नर महाप्रसाद अधिकारी आगामी चैत अन्तिम साता ५ वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदैछन् ।



About Us
प्रतिक्रिया