मौद्रिक नीतिको कार्यान्वयनः मुद्रास्फिती सिमा भित्र, कर्जा विस्तारको लक्ष्य भेटिएन


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन लक्ष्यअनुरुप भइरहेको उल्लेख गरेको छ । आज चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको समिक्षा गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको कार्यान्वयन लक्ष्यअनुरुप भइरहेको जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू वर्षका लागि मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएको थियो । जसमा चालु आर्थिक वर्षको ६ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.९७ प्रतिशत रहेको छ ।

यस्तै, कम्तिमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य लिइएको थिया । जबकी, २०८१ पुस मसान्तमा कायम विदेशी विनिमय सञ्चिति करिव १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशतसम्म र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहको लक्ष्य राखिएको छ । २०८१ पुस मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १०.२ प्रतिशतले र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७० प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

ब्याजदर उतारचढाव व्यवस्थापनका लागि कार्यान्वयनमा ल्याइएको ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । व्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशत र तल्लो सीमा ३ प्रतिशत रहेकोमा २०८१ माघमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तरबैंक दर ३ प्रतिशत प्रतिशत कायम भएको छ ।

‘आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा गरिएका वित्तीय क्षेत्र तथा विदेशी विनिमयसँग सम्बन्धित अधिकांश नियामकीय व्यवस्थाहरु कार्यान्वयनमा आएका छन्,’ केन्द्रीय बैंकले जनाएको छ ।