साताको शेयर: परिसूचक ६५ अंकले बढ्दा ३८ अर्ब माथिको कारोबार 


काठमाडौं – अघिल्लो साता लय समात्न नसकेको शेयर बजारमा यो साता भने हरियाली छायो । यो साता समग्रमा शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मा ६५ दशमलव २७ अंकको वृद्धि देखिएको छ । यो साताको पहिलो कारोबारको दिन आइतबारदेखि नै शेयर बजारले उकालो यात्रालाई जारी नै राख्यो । गत साताको बिहीबार ७ दशमलव २६ अंकले घटेसँगै  २,६७८ दशमलव ४७ को बिन्दुमा रोकिएको बजार यो साताको आइतबार १९ दशमलव ५६ अंकले बढेर २,६९८ दशमलव ०३ को बिन्दुमा पुग्यो। 

आइतबार बढेको बजारमा ९ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक २९ दशमलव ८७ अंकले बढेर २,७२७ दशमलव ९१ बिन्दुमा पुग्दा १० अर्ब ४ करोड रुपैयाँ माथिको कारोबार भएको भयो । यस्तै, आइतबार र सोमबार बढेको नेप्से परिसूचक मंगलबार पनि बढ्यो । 

मंगलबार नेप्से ११ दशमलव ९१ अंकले बढेर २,७३९ दशमलव ८२ को बिन्दुमा बजार बन्द भयो । मंगलबार १० अर्ब ४३ लाख रुपैयाँको  कारोबार भयो ।  बुधबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा रहेकाले शेयर कारोबार भएन।  साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्सेमा परिसूचकमा ३ दशमलव १४ अंको वृद्धि देखिएसँगै बजार २७ सय ४३ दशमलव ७४ को बिन्दुमा रोकियो । बिहीबार ८ अर्ब ६२ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उच्च मूल्यको वृद्धि देखियो । यो साता ४ दिन कारोबार हुँदा ३८अर्ब ५६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । गत साता ३८ अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार थियो ।  यतिबेला लगानीकर्ताहरू नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाले नीतिगत सहुलियत ल्याउने प्रतीक्षामा छन्।