दोहोरो अंकले परिसूचक बढ्दा ९ अर्ब बढीको कारोबार, फाइनान्स समूह चम्कियो

‘बैंकिङ्ग समूह ०.९८ अंकले बढ्यो’


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशलमव ५६ अंकले बढेर २,६९८ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३१ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। फाइनान्स सेक्टरको शेयर मूल्य ४.९४ प्रतिशतले बढेको हो । साथै, बैंकिङ्ग समूहको ०.९८ प्रतिशत, विकास बैंककाे १.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।