काठमाडौं – वाणिज्य बैंकबाट शेयर धितोमा आधारित कर्जा बढ्न थाले पनि शेयर बजार भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिना (पुस मसान्तसम्म)मा बैंक तथा वित्तीय संस्थाबाट १९ अर्ब रुपैयाँभन्दा बढी शेयर धितोमा आधारित कर्जा प्रवाह भएको छ ।
तथ्यांकअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकहरुबाट १९ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको शेयर धितो कर्जा प्रवाह भएको छ । तर, पनि शेयर बजारमा भने यसको सकारात्मक प्रभाव देखिएको छैन । ठुलो मात्रामा शेयर धितो कर्जामार्फत शेयर बजारमा लगानी बढ्दा समेत यसको सकारात्मक परिणाम नदेखिएको हो ।
यद्यपि, एक वर्षको तथ्यांक हेर्दा भने शेयर बजार परिसूचक उल्लेख्य अंकले बढेको देखिनछ । गत वर्षको माघ महिनामा २१ सय अंकको बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक हाल साढे २६ सय अंकभन्दा माथि छ । २०८० को माघ अन्तिमतर्फ २१ सय अंकको बिन्दुमा रहेको शेयर बजार परिसूचक २०८१ असार मध्य साताबाट भने बढ्न थालेको थियो ।
त्यतिबेला एमाले र माओवादीको साझेदारीमा रहेको सत्ता समीकरण फेरबदल हुँदा परिसूचकले सकारात्मक मोड लिएको थियो। उक्त समय २ हजार अंक आसपास रहेको नेप्से परिसूचक निरन्तर बढेर ३ हजार अंकको बिन्दु छोएको थियो । तर, त्यसयता फेरी परिसूचक बढ्न सकेको छैन ।
तथ्यांकअनुसार असार अन्तिममा २५ सय अंकको बिन्दुमा रहेको शेयर बजार साउन ३१ सम्ममा ३ हजार अंकको बिन्दुमा पुगेको थियो । त्यसयता भने शेयर बजार पुनः लयमा फर्कन सकेको छैन । लयमा नफर्किए पनि बिस्तारै शेयर धितोमा आधारित कर्जाको अनुपात बढ्न थालेको तथ्यांकले देखाउँछ ।
शेयर धितोमा आधारित साढे १९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भइसकेको छ । जबकि, शेयर बजारमा दैनिक कारोबार रकम झनै खुम्चिँदै ८ अर्ब हाराहारीमा मात्रै सीमित छ । यस आधारमा, शेयर धितो कर्जा बढे पनि शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिन सकेको छैन ।



About Us
प्रतिक्रिया