काठमाडौं – शेयर बजार वृद्धिको रौनक घटेसँगै पूँजीगत लाभकर ‘क्यापिटल गेन ट्याक्स’ घट्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार गठन भएँगै साउनमा शेयर बजार परिसूचक (नेप्से) बढेर ३ हजार अंकमा पुगेको थियो । त्यसयता, परिसूचक वृद्धिमा सुस्तता आउँदा लाभकर संकलनको क्रम घट्न थालेको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते सत्ता साझेदारीको सम्झौता भएको थियो । त्यसअघि नेप्से परिसूचक २२ सय अंक आसपास थियो । नयाँ सरकार बन्ने सूचना पाउन साथ लगानीकर्ताले बजारमा लगानी सुरु गर्दा निरन्तर बढेर ३ हजार अंक छोएको थियो । परिसूचक बढेसँगै बजार पसेका लगानीकर्ताले कारोबार गति बढाउँदा राज्यकोषमा जम्मा हुने पूँजीगत लाभकर समेत बढेको थियो ।
सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन महिनामा ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ लाभकर उठेको थियो । तर, त्यसपछि घट्न थालेको बजारमा सुस्तता छाएसँगै ट्याक्स समेत घट्न थाल्यो । भदौमा कर संकलन दर ह्वात्तै घटेर २ अर्ब ५७ करोडमा आइपुग्यो । यस्तै, असोजमा ५८ करोड ६५ लाख र कात्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ पूँजीगत लाभकर उठयो ।
मंसिरमा भने फेरी लाभकर उठ्ने क्रम थोरै वृद्धि भएको थियो । सो महिनामा १ अर्ब ४ करोड रुपैयाँ लाभकर उठेको लिमिटेडले जानकारी दिएको छ । यस्तै, पुस महिनामा योक्रम ह्वात्तै घट्यो र ५८ करोड ७ लाख ८५ हजार रुपैयाँ उठ्यो । शेयर बजार परिसूचक उकालो लागेसँगै राज्यकोषमा जम्मा हुने पूँजीगत लाभकर संकलन बढ्ने लिमिटेडका प्रवक्ता शुरेस न्यौपाने बताउँछन् ।
बजार बढेसँगै नाफा आर्जनको क्रम बढ्ने भएकाले यो तथ्यांक बढ्ने गरेको हो । सरकारले शेयर किनेर १ वर्षसम्म होल्ड गरेर बिक्री गर्दा आर्जन भएको नाफामा ५ प्रतिशत र १ वर्षभित्रै नाफा आर्जन गरेर बिक्री गरेको शेयरमा ७.५ प्रतिशत लाभकर लिँदै आइरहेको छ ।



About Us
प्रतिक्रिया