काठमाडाैं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज आइतबार (माघ ६ गते) बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरिएको हो।
गार्डियन माइक्रो लाइफको आइपीओमा १८ लाख ३० हजार ८५७ आवेदकबाट २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जुन मागभन्दा १२.५८ गुणाले बढी हो । कुल परेको आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदकबाट माग भएको २ करोड ३० लाख ३५ हजार ७३० कित्ता शेयर सदर भएको छ भने ८ हजार ४५२ आवेदकबाट माग भएको १ लाख ६६ हजार ८१० कित्ता बदर भएको छ। कम्पनीले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियाे ।
कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो। कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको थियो।
मागभन्दा बढी आवेदन परेका कारण गार्डियन माइक्रो लाइफको आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख ३७ हजार ९०५ आवेदकबाट हात खाली भएको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्ट बाट एफपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया