साताकाे पहिलाे काराेबारकाे दिन १० अंकले परिसूचक घट्दा ९ अर्बकाे काराेबार

‘बैंकिङ्ग समूह ०.८९ प्रतिशतले घट्यो’


काठमाडाैं – याे साताकाे पहिलाे काराेबारकाे दिन आइतबार शेयर बजारमा गिरावट देखिएको छ । आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १० दशमलव ४१ अंकले घट्दै बजार २६ सय ४३ दशमलव ९३ काे बिन्दुमा बन्द भएकाे छ ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूहमा बढेका छन् भने ८ वटामा गिरावट आएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ०.७५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ।

आज बजारमा ११६ कम्पनीको शेयरभाउ बढेको छ भने १२१ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ।

बजारमा आज ४ कम्पनीको शेयरभाउ सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरभाउमा १० प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंक र आरम्भ चौतारी लघुवित्तको शेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिका साथ सकारात्मक सर्किट लागेको हो।

यो दिन ५ वटा स्टकमा नकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु), एनआईसी एसिया बैंकको डिबेन्चर, दोल्ती पावर र जानकी फाइनान्सको शेयरभाउमा १० प्रतिशत तथा धौलागिरी लघुवित्तको शेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नकारात्मक सर्किट लागेको हो।

आज ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको ४.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५० प्रतिशतले शेयर मूल्य घटेको छ ।