काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बीमा अर्थतन्त्रको एउटा महत्त्वपूर्ण अंग भएको हुँदा बीमा क्षेत्रसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रही आयोजना भएको नेशनल इन्स्योरेन्स डिस्कोर्श महत्त्वपूर्ण रहेको बताएका छन् । बैंकिङ्ग समाचारको आयोजनामा भएको दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले अहिले बीमा कम्पनीहरूले उद्योगको आवश्यकता बाहेकका क्षेत्रमा समेत अनिवार्य बीमा गरेकाले उद्योगहरूको लागत बढाएको बताएका हुन्।
‘आजको डिस्कोर्श विशेष गरी बीमा क्षेत्रको विकास, बजार तथा रणनीति, बीमा क्षेत्रमा प्रविधि तथा नेपाली पुनर्बीमा बजारको सीमा विस्तारमा रहेको हुँदा यी विषयवस्तुमा गहन रूपमा छलफल गरी, हाल भइरहेका व्यवस्थाका कारण उद्योग व्यवसायमा परेको असर समेतलाई मनन गरी आगामी दिनमा गरिनुपर्ने नीतिगत सुधारका विषयहरूमा समेत गहन रूपमा छलफल हुने मेरो विश्वास छ ।’ उनले भने ।
अग्रवालले नियामक निकायले बजारलाई प्रतिस्पर्धी बनाउन बीमाको दर तोक्ने नभई खुला छोड्नुपर्ने र बीमा कम्पनीहरूलाई प्रतिस्पर्धी बन्ने वातावरण बनाउनुपर्ने बताए । उनले बीमा कम्पनीहरू प्रतिस्पर्धी बन्ने हो भने बीमा बजार विस्तार हुने उल्लेख गरे। ‘बीमा कम्पनीहरूलाई मात्रै संरक्षण गर्ने नीति लिन हुँदैन । यो अर्थतन्त्रको एक अभिन्न अगं भएको हुँदा यस क्षेत्रका लागि लिइएको नीतिले अर्को क्षेत्रलाई कस्तो असर पर्छ भन्ने विषयमा पनि गम्भीर भएर सोचेर, मनन गरेर मात्रै अगाडि बढ्न तथा सुधार गर्न बीमा प्राधिकरणलाई अनुरोध समेत गर्दछु’ उनले भने ।
उनले बीमितले जहाँबाट पनि बीमा गर्न पाउने व्यवस्था गर्न समेत आवश्यक रहेको बताएका छन् । नेपालको बीमा नीतिले यहाँका बीमा कम्पनीहरूसँग बीमा गर्दा प्रिमियम बढी हुन्छ र त्यसले उत्पादन लागत बढाउन सहयोग गर्छ भने विदेशी बीमा कम्पनीसँग पनि बीमा गर्न पाउने व्यवस्था हुन आवश्यक रहेको उनको बुझाई छ । उनले जीवन बीमा तथा निर्जीवन बीमाको लगानीको क्षेत्र विस्तार गर्न आवश्यक रहेको बताएका हुन् । उनले बीमा कम्पनी निश्चित सीमा, निश्चित घेराभित्र मात्रै बस्ने हो भने कुनै पनि बेला बीमा कम्पनीहरूले पनि समस्यामा पर्न सक्ने बताए ।
प्रतिक्रिया