'वुमन्स इन फाइनान्स'

मुद्रा कोषदेखि विश्व बैंक हाँक्दै महिलाः नेपालमा ‘सेकेन्ड म्यान’मा सीमित, ‘फस्टम्यान’ कहिले ?

मुद्रा कोषदेखि विश्व बैंक हाँक्दै महिलाः नेपालमा ‘सेकेन्ड म्यान’मा सीमित, ‘फस्टम्यान’ कहिले ?


काठमाडौं – विश्वका सबैभन्दा ठुला वित्तीय संस्थाको नेतृत्वमा महिला छन् । विश्वभरको आर्थिक प्रणालीमा आफ्नो दबदबा राखेका वित्तीय संस्था अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम र एसियाली विकास बैंकको नेतृत्व तहमा महिलाको दबदबा छ । मुद्रा कोष र वित्त निगमको पहिलो तहको नेतृत्वमा नै महिला छन् ।

तर, नेपालमा वित्त क्षेत्रको माथिल्लो नेतृत्व तहमा भने महिलाको पहुँच शून्य प्राय छ । माथिल्लो तहमा पुगेकाहरु पनि ‘सेकेन्ड म्यान’का रूपमा कार्यरत छन् । राष्ट्रपति र प्रधानन्यायाधीश भूमिकामा महिला पुगिसकेका छन् । राष्ट्रपतिमा विद्यादेवी भण्डारीले दुई पटक देशको नेतृत्व गरिसकेकी छिन् ।

यस्तै, सर्वोच्च अदालतको प्रधानन्यायधीसका रुपमा सुशीला कार्कीले पद सम्हालिसकेकी छिन् भने निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा समेत पहिलो महिला सचिवकारुपमा लिलादेवी गड्तौला पुगिसकेकी छिन् । यी उदाहरणले महिलाहरुपनि नेपालको सर्वोच्च पदमा पुगेर सफलतापूर्वक पदको जिम्मेवारी सम्हाल्न सक्ने पुष्टि गर्छ । यस्तै, प्रकारको नेतृत्व निजी क्षेत्रद्वारा सञ्चालित केही बैंकहरुमा भने महिलाले गरिसकेका छन् ।

अनुपमा खुलेञ्जेली र रबिना देशराज जोशीले बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरिसकेका छन् । यसैगरी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरमा समेत डा. निलम ढुंगाना पुगेकी छिन् । यसले महिला अन्य क्षेत्रजस्तै वित्तीय क्षेत्रमा समेत नेतृत्व गर्न सक्षम छन् भन्ने दर्शाउँछ ।

ढुंगाना २०७७ साल फागुन २५ गतेको मन्त्रीपरिषद्को बैठकबाट नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएकी थिइन् । जुन, राष्ट्र बैंकको इतिहासमा पहिलो घटना हो । वि.स. २०२५ मा जन्मिएकी डा. ढुंगाना नेपालकै पहिलो महिला डेपुटी गभर्नर बनेर नयाँ इतिहास नै रचेकी छिन् ।

महिला ‘सेकेन्ड म्यान’मै सिमित, ‘फस्टम्यान’ कहिले ?
महिला सधैँ ‘सेकेन्ड म्यान’मा सिमित बन्ने प्रचलन नेपालमा पुरानै हो । सबैजसो क्षेत्रमा महिलालाई उपाध्यक्ष र उपसचिव जस्ता पद दिइन्छ । योक्रम राजनीतिकदेखि सबैजसो क्षेत्रमा छ । जसको प्रभाव वित्तीय क्षेत्रमा पनि धेरथोर परिरहेको देखिन्छ । पहिलो महिला डेपुटी गभर्नर बनेर इतिहास रचेकी डा. ढुंगानाले सुरुमा नै गभर्नर बन्ने लक्ष्य प्रस्तुत गरिसकेकी थिइन् ।

उनीजस्तै धेरै महिलाहरुको समेत पहिलो नेपालको गभर्नर बन्ने लक्ष्य छ । जुन, लक्ष्य पुरा भएर पहिलो इतिहास रच्ने मौका कसलाई जुर्छ भन्ने टुंगो छैन । जेहोस् ढिलो चाँडो नेपाल राष्ट्र बैंकले समेत महिला गभर्नर पाउन सक्छ । तर, यसको समय कहिलेसम्म भन्ने टुंगो छैन । रबिना देशराज जोशी र अनुपमा खुलेञ्जेलीले प्रमुख कार्यकारी अधिकृत बनेर वित्तीय क्षेत्रको सिंगो संस्था चलाइसकेका छन् । यसबाट पनि महिला वित्तीय संस्थाको नेतृत्वमा अब्बल छन् भन्ने देखाउँछ ।

यस्तै, अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा महिलाले गरेको नेतृत्वले समेत यसलाई पुष्टि गर्छ । उनीहरूले कुशलतापूर्वक आफ्नो जिम्मेवारी सञ्चालन गर्दै आइरहेका छन् । मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंक, वित्त निगममा महिलाहरू उच्च तहमा कार्यरत छन्। यस्तै, यस पटक नेपाल सरकार समक्ष महिलालाई गभर्नरका रुपमा नियुक्त गर्ने अवसर छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषमा महिला ‘लिडर’को वर्चस्व

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माथिल्लो तहको नेतृत्वमा शतप्रतिशत महिला छन् । आईएमएफको उच्च नेतृत्वको संरचनामा कूल ३२ जनाको टिम छ । तीमध्ये एक जना प्रबन्ध निर्देशक र ३ जना उप प्रबन्ध निर्देशक र बाँकी निर्देशक छन् । यीमध्ये आईएमएफको प्रबन्ध निर्देशकमा महिला छिन् ।

क्रिस्टिलिना जर्जियभा सन् २०१९ देखि प्रबन्ध निर्देशकको भूमिकामा छिन् । यस्तै, उनीपछिको भूमिकामा वरिष्ठ उप प्रबन्ध निर्देशकमा समेत महिला नै छिन् । यो भूमिकामा सन् २०२२ देखि गिता गोपिनाथ छिन् भने गोपिनाथपछि एन्टोनिट्ट मोन्सियो सायेह छिन् ।

यस्तै जुलिया कोजाक, कार्टिओना पुर्फिल्ड, यान लिउ, सेला पाजार्बसिग्लु, सिरिन हमिद, मिकेल शानोन, एस्लेन भान डर कोल्फ र रोमि बोअर्स निर्देशकमा छन् । मुद्रा कोषको कूल ३२ जनाको उच्च पदस्थको टोलिमा ११ जना महिला नेतृत्व छन् । उनीहरूमध्ये पनि उच्च तीन नेतृत्वमा महिला नै देखिन्छन् ।

विश्व बैंक हाँँक्दै महिला

विश्व बैंकको उच्च नेतृत्वमा १२ जनाको टिम छ । जसमध्ये अध्यक्षमा अजय बांगा छन् । विश्व बैंक ग्रुपको एन्ना बेरडे प्रबन्ध निर्देशकमा छिन् । उनी सञ्चालनतर्फको प्रबन्ध निर्देशक हुन् । यस्तै ‘चिफ फाइनान्सियल अफिसर’मा अन्शुला कान्त छिन् । यसैगरी प्रबन्ध सचिवमा मार्टिना पोलासेक छिन् । यता इन्टरनेश्नल डेभलपमेन्ट एसोसिएसन (आईडीए)को उपाध्यक्षमा अन्टोनेला बस्सानी छिन् ।

यसैगरी मल्टिल्याट्र्ल इनभेष्टमेन्ट ग्यारेन्टी एजेन्सी (एमआईजीए) को महानिर्देशक समेत महिला छिन् । जानि एच. फेर्रेट्टीले एमआईजीएको नेतृत्व गरिरहेकी हुन् । यो तथ्यले विश्व बैंकको नेतृत्वमा महिला समेत छन् भन्ने पुष्टि गर्छ । अर्थात्, विश्व बैंकको नेतृत्व समेत महिलाले हाँक्दै आइरहेका छन् ।

आईएफसीमा ३ महिला उपाध्यक्ष

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को नेतृत्वमा समेत महिला छन् । यो संस्थाको उपाध्यक्षमा इलेना बरर्गान्सकाइया छिन् । प्रबन्ध निर्देशकबाहेक १२ जना उपाध्यक्षमध्ये ३ महिला उपाध्यक्ष छन् । यीमध्ये इलेना वरिष्ठ उपाध्यक्ष हुन् । यसपछि हेला चेइख्रोउहोउ, सुसन एम लुन्ड र म्यारी जिन मोयो छिन् । मोयो चिफ अफ स्टाफ समेत हुन् ।

एडीबीमा दुई महिला उपाध्यक्ष

विश्व बैंक, मुद्रा कोष, वित्त निगम लगायतको नेतृत्व तह सम्हाल्दै आएका महिला एसियाली विकास बैंक (एडीबी) मा समेत नेतृत्व तहमा छन् । एडीबीमा दुई उपाध्यक्ष महिला छन् । जसले संस्थाको माथिल्लो तहमा महिलाको प्रतिनिधित्व गर्छन् । फाटिमा यासिम र रोबेर्टा कासालि एडीबीको उपाध्यक्षकारुपमा कार्यरत छन् । ७ जनाको उच्चस्तरीय व्यवस्थापन टिममा २ जना महिला उपाध्यक्ष रहेका हुन् ।