केन्द्रीय बैंकद्वारा दुई महिनामा ६६ खर्ब बढी तरलता प्रशोचन

केन्द्रीय बैंकद्वारा दुई महिनामा ६६ खर्ब बढी तरलता प्रशोचन


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/ ८२ को दुई महिना साउन र भदौमा ६६ खर्ब बढी तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत ६६ खर्ब ९५ खर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो ।

निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड रुपैयाँ गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको केन्द्रीय बैंकद्वारा जारी प्रतिवदेनमा उल्लेख गरिएको छ ।

बैंकले गत वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ३ खर्ब ६२ अर्ब ३६ करोड तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १ खर्ब ११ अर्ब ९७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७७ करोड ७८ लाख खुद खरिद गरी १ खर्ब २ अर्ब ८७ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ५६ करोड २० लाख बिक्री गरी ७५ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४४ करोड बिक्री गरी ५८ अर्ब २६ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।