काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्मको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । आर्थिक वर्षको साउन र भदौको रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले समीक्षा अवधिमा मुलुकको चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको जनाएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा चालु खाता जम्मा २३ अर्ब ९७ करोडले बचतमा रहँदा यता शोधनान्तर स्थिति ५५ अर्ब १० करोडले मात्र बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।
प्रमुख झलक:
आयात १.१ प्रतिशतलेबढेको र निर्यात ५.१ प्रतिशतले घटेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडलेबचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति रु.२१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ ।
नेपाल सरकारको खर्च १३७ अर्ब ५५ करोड रूपैयाँ र राजस्व परिचालन १६६ अर्ब ३९ करोड रूपैयाँ रहेको छ ।
विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको
छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले
बढेकोछ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर
६.६ प्रतिशत रहेको छ ।
भदाै महिनासम्मको तथ्याङ्क अनुसार दुई महिनामा २६२ अर्ब ५४ करोड रुपैयाँको कूल बस्तु आयात गरेको छ । यस बाहेक सेवा समेत थप हुँदा अझै बढ्नेछ । तर, सोही अवधीमा देशको राजश्व संकलन भने १६६ अर्बमा सीमित भएको छ । अर्थात् कूल आयातको आधा मात्रै राजश्व संकलन भइरहेको छ ।
तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा बस्तु निर्यात ५.१ प्रतिशतले घटेर २६ अर्ब नौ करोडमा सीमित हुन पुगेको छ । त्यस्तै, अघिल्लो वर्ष निर्यात ७.८ प्रतिशतले ह्रास आएकोमा यस वर्ष ह्रास आउने क्रम कम भएको देखिएको छ । निर्यातमध्ये चीनमा सबैभन्दा धेरै घटेको छ । चीनमा ४५.३ प्रतिशतले निर्यात घटेको छ ।
नेपालले चिया, पिना, जुत्ता चप्पल, सायाबिन तेल जस्ता सामानको निर्यात बढेको छ भने अलैची, जिंक सिट, पाम तेपल, तयारी पोशाक, जडिबुटी लगायतको निर्यात घटेको छ । नेपालले आयात गर्ने सामानहरुमा अटो, स्पेयरपार्टस, खाने तेल, रसायनिक मल, दुर सञ्चार उपकरणको आयात बढेको छ भने सुन, एमएस बिलेट, चालम, कच्चा पाम तेल, विद्युतीय उपकरणको आयात घटेको छ ।
चालु आवको दुई महिनामा बस्तु व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भई २३७ अर्ब ४५ करोड नाघेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा ४.७ प्रतिशतले कमी आएको थियो । नेपालले दुई महिनामा २९ अर्ब ९३ करोड बराबरको बस्तु तथा सामान आयात गरेको छ ।
दुई महिनामा सेवामूलक व्यापारमा २८ अर्ब २० करोड रुपैयाँ घाटामा रहेको छ । समीक्षा अवधीमा भ्रमण आय बापत १० अर्ब ५३ करोड रुपैयाँ देशले आम्दानी गर्दा नेपालीहरुले ४३ अर्ब ४९ करोड रुपैयाँ विदेश भ्रमणमा सकाएका छन् । नेपालीहरुले विदेश भ्रमणमा गर्ने खर्च २२.२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको दुई महिनामा नेपालीहरुले जम्मा ३५ अर्ब रुपैयाँ भ्रमणमा खर्च गरेका थिए ।



About Us
प्रतिक्रिया