दुई महिनामा ३५ अर्ब ३ करोड रुपैयाँले बढ्याे बैंक तथा वित्तीय संस्थाकाे निक्षेप परिचालन


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालन ० दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्म ०.५ प्रतिशत अर्थात् निक्षेप परिचालन ३५ अर्ब ३ करोड रुपैयाँले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात अर्ब ५६ करोड (०. १ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, ३०.९ प्रतिशत र ५६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.२ प्रतिशत, २५.९ प्रतिशत र ६१.१ प्रतिशत रहेको थियो।

दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ। २०८० भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३६.१ प्रतिशत रहेको थियो ।