पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्छ : डेपुटी गभर्नर मिश्र

पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्छ : डेपुटी गभर्नर मिश्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐना बन्न सक्नुपर्ने बताउनुभएको हो । उहाँले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताउनुभयो ।

मिश्रले बजारमा ‘टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनुपर्ने बताउनुभयो । उहाँले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताउनुभयो ।

बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रा नभएको बताउनुभयो ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताउनुभयो । उहाँले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरू सबैसँग छलफल गरेर अध्ययन भइरहेको बताउनुभयो ।

कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको बताउनुभयो । बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागि रहेको बताउनुभयो ।

कार्कीले शेयर बजारलाई परिपक्व बनाउन शेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने बताउनुभयो । साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने उहाँको भनाइ छ ।

रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको कार्कीले बताउनुभयो । कार्कीले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्न छिटै कार्यदल गठन गरेर अध्ययन अघि बढाउने तयारीमा नेप्से रहेको बताउनुभयो ।

हाल सञ्चालनमा रहेको ओटिसी प्लाटफर्म समेत प्रारम्भिक चरण मै रहेको भन्दै कार्कीले सात लाखभन्दा बढी कम्पनीहरू रजिष्ट्रार कार्यालयमा दर्ता रहँदा २५२/५४ कम्पनी मात्रै हाल ओटिसीमा आबद्ध भएको बताउनुभयो ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर ९आईपीओ०मा कोटा दिने व्यवस्था गर्ने बताउनुभयो । उहाँले श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रिपरिषद्बाट पास हुने वितिकै लागू गरिने बताउनुभयो ।

अध्यक्ष हमालले पछिल्लो समय अत्याधिक रुपमा शेयर बजारमा उतारचढाव आउनु सबै क्षेत्रको लगानी सन्तुलन नहुनु भएको बताउनुभयो । बजारमा ठूलो लगानी भएको क्षेत्र समावेश गराउने प्रयास भइरहेको उहाँको भनाइ छ ।

शेयर बजारमा ठूला रियल क्षेत्रका कम्पनीलाई बुक विल्डिङ मार्फत ल्याइने अध्यक्ष हमालले बताउनुभयो । रियल क्षेत्रका कम्पनीलाई शेयर बजारमा बुक विल्डिङ मार्फत बजारमा ल्याउन चुनौती रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय बुक विल्डिङ सिस्टमका विषयमा गलत प्रचार भएकाले त्यसलाई पारदर्शिता बनाएर लानु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष हमालले एनआरएनलाई पनि ३ महिना भित्रमा नेपाली शेयर बजारको सेकेण्डरी मार्केटमा लगानी गर्न दिने व्यवस्था गर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय अनुसार शेयर मार्केट शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिनुभयो ।