एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, वालेटमा पनि बढ्दाे आकर्षण 

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, वालेटमा पनि बढ्दाे आकर्षण 


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मोबाइल बैंकिङ्ग प्रयोगताकाे संख्यामा ३ लाखले वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ३ लाख १२ हजार ३ सय १९ ले बढ्दै २ कराेड ४९ लाख ६१ हजार १ सय ६५ पुगेकाे छ । असारमसान्तसम्म २ करोड ४६ लाख ४८ हजार ८ सय ४८ रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या साउनमा बढेकाे हाे ।

अघिल्लो साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १६ लाख ९१ हजार ४७४ थियो। गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको संख्या ३२ लाख ६९ हजारले बढी हाे। गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो।

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यासँगै वालेट प्रयोगकर्ताको पनि संख्या बढेकाे छ । असारकाे तुलनामा साउनमा वालेट प्रयोगकर्ताको संख्या ७ लाखले बढेको हो । असारसम्म २ कराेड ३४ लाख ६१ हजार १०७ रहेकाेमा साउनमा बढेर २ कराेड ४२ लाख ५७ हजार ६५६ पुगेकाे छ ।

गत वर्षकाे साउनमा वालेट प्रयोगकर्ताको संख्या १ कराेड ९५ लाख ४० हजार ३०५ रहेकाेमा याे साउनमा २ कराेड ४२ लाख ५७ हजार ६५६ पुगेकाे छ । इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या भने ४३ हजारले बढेको छ। हाल देशमा १९ लाख ६२ हजार ८२७ जना इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता छन् ।

साउनमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ। वालेट प्रयोग गरी ४३ अर्ब रुपैयाँकाे भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।