तनहुँ– मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो।
गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ संकलन रुपैयाँ गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए। संकलन रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ रुपैयाँ संघीय सञ्चित कोषमा,चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने बाँकी १८ करोड १३ लाख आठ हजार नौ सय ७० रुपैयाँ मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ।
जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व संकलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ। कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो।
बैंक तथा वित्तीय संघसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व संकलन बढ्नुको अर्को कारण हो।






About Us
प्रतिक्रिया