स्रोत नखुलेको १४ लाख बढी रकमसहित तीनजना पक्राउ


सिरहा – सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ बाट प्रहरीले चेकजाँचको क्रममा स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका १० बस्ने ५७ वर्षीय मजित मियाँ, २८ वर्षीय मो. अलाउदिन र २३ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

जिल्लाको दक्षिणी सीमावर्ती भगवानपुरबाट स ९ प ११६२ नम्बरको मोटरसाइकल चढेर हुन्डीसम्बन्धी कारोबार गर्नेहरू लहानतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लहानतर्फ आउँदै गरेका तीनजना चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूले आ–आफ्नो साथमा लुकाएको १४ लाख १९ हजार आठ सय ९० नेपाली रुपैयाँ र चार सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।