मास्टरकार्डसँग मोको वालेटको सम्झौताः भारतीयले गर्नेछन् क्यूआरबाटै भुक्तानी

मास्टरकार्डसँग मोको वालेटको सम्झौताः भारतीयले गर्नेछन् क्यूआरबाटै भुक्तानी


मुम्बई – फोकस वान सोलुसन्स तथा मोको डिजिटल वालेटका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले मास्टरकार्डसँगको सम्झौताले नेपालमा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताएका छन् । भारतको मुम्बईमा २८ देखि ३० अगस्टसम्म चलेको ‘ग्लोबल फिनटेक फेस्टिभल’मा बैंकिङ्ग समाचारसँग कुराकानी गर्दै राजभण्डारीले यस्तो बताएका हुन् ।

३ दिनसम्म चलेको सो फेस्टिभलमा मोको डिजिटलले मास्टरकार्ड इन्डिया र पर्यटन बोर्डसँग त्रिपक्षीय सम्झौता गरेको थियो । सम्झौताअनुसार भारतीय मास्टरकार्ड प्रयोगकर्ताले नेपालमा आउँदा मोको डिजिटलको क्यूआरमार्फत भुक्तानी गर्न पाउनेछन् । यही सम्झौतापछि बैंकिङ्ग समाचारसँगको कुराकानीमा यो सम्झौताले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।

‘नेपालमा क्यूआरको प्रयोग बढेको छ । मान्छेले क्यूआरको प्रयोग बढाउँदै लगिरहेका छन्,’ राजभण्डारीले भने, ‘मान्छेहरु युस्डटू भइसके । तर यो स्वदेशमा मात्रै प्रयोग भइरहेको थियो ।’ तर मास्टरकार्ड इन्डियासँगको सम्झौतापछि भारतीय मास्टरकार्ड प्रयोगकर्ताले समेत नेपालमा क्यूआरमार्फत नै रकम भुक्तानी गर्न सक्नेछन् ।

यो सम्झौतापछि नेपालका साना तथा मझौला पर्यटन व्यवसायीलाई सहज हुने मोको डिजिटल वालेटको भनाई छ । अब विभिन्न ट्रेकिङ रुट र ट्रेलमा घुम्न आउने भारतीय मास्टरकार्ड प्रयोगकर्ताले क्यूआरमार्फत नै रकम भुक्तानी गर्न सक्छन् । यसबाट विश्वव्यापीरुपमा समेत नेपालको पर्यटन व्यवसाय प्रबद्र्धन हुने राजभण्डारीले बताए ।

मास्टरकार्डका प्रयोगकर्ता विश्वका १३० भन्दा बढी देशमा छन् । यसमध्ये नेपालमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आउँछन् । यो सम्झौतापछि मास्टरकार्ड प्रयोगकर्ता नेपाल घुम्न आउँदा ‘क्यास’ बोक्नैपर्ने बाध्यता सकिएको छ ।