नेपालमा डिजिटल भुक्तानीको बढ्दो प्रयोग, यस्तो छ गत वर्षको तथ्यांक

नेपालमा डिजिटल भुक्तानीको बढ्दो प्रयोग, यस्तो छ गत वर्षको तथ्यांक

'तथ्यांकअनुसार क्यूआरबाट हुने भुक्तानी १०० प्रतिशतभन्दा बढीले बढेको छ'


काठमाडाैं – पछिल्लो १ वर्षमा मोबाइल वालेटको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वालेट प्रयोगकर्ताकाे संख्या २३.८६ प्रतिशतले बढेको हाे । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वालेट प्रयोगकर्ता १ करोड ८९ लाख ४१ हजार ७९३ रहेकोमा गत आवमा बढेर २ करोड ३४ लाख ६१ हजार १०७ पुगेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा वर्षमा वालेटबाट ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा वालेटबाट हुने कारोबार ५४ प्रतिशतले बढेको देखिन्छ ।

गत आवमा क्यूआरमा आधारित भुक्तानीमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। क्यूआरको माध्यमबाट भएको कारोबारको संख्या ११३.२० प्रतिशतले बढेर २ करोड ८ लाख २५ हजार नाघेको छ भने कुल कारोबार रकम १०४.७७ प्रतिशतले बढेर ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, २०८१ असारसम्म आरटीजीएस प्रणाली कारोबार रकम ११६. २८ प्रतिशतले बढेर ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँ पुगेको छ। २०८० को असार महिनामा २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँकाे काराेबार भएकाे थियाे ।


यस्तै, समिक्षा वर्षमा मोबाइल बैंकिङ्ग प्रयाेगकर्ताकाे संख्या ५८.०३ प्रतिशतले बढेर २ कराेड ४६ लाख नाघेको छ । अघिल्लो वर्ष मोबाइल बैंकिङ्ग प्रयोगकर्ताकाे संख्या २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो। मोबाइल बैंकिङ्गबाट काराेबार भएकाे रकम भने ६०.१६ प्रतिशतले बढेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा संख्या १९ लाख १९ हजार ३२२ पुगेको छ। अघिल्लाे वर्ष इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता १८ लाख ५६ हजार १९५ रहेको थियो। साे समयमा इन्टरनेट बैंकिङ्गबाट १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

एटीएमबाट भएकाे काराेबारमा पनि वृद्धि देखिएको छ। असार २०८० मा ११ करोड ४२ हजारभन्दा बढी कारोबार भएकोमा असार २०८१ मा यो संख्या १.५८ प्रतिशतले बढेर ११ करोड २ लाखभन्दा बढी पुगेको छ। कुल रकममा पनि ४.९४ प्रतिशतले वृद्धि भई ९१ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेकाे २०८१ असारसम्मको मासिक भुक्तानी प्रणाली सूचकांकमा नेपालमा डिजिटल भुक्तानीको प्रचलनमा उल्लेखनीय वृद्धि भएको देखिएकाे हाे ।