एक वर्षमा केन्द्रीय बैंकद्वारा ४६ खर्ब ७३ अर्ब बढीको तरलता प्रशोचन

एक वर्षमा केन्द्रीय बैंकद्वारा ४६ खर्ब ७३ अर्ब बढीको तरलता प्रशोचन


काठमाडाैं – गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले रू. ४६ खर्ब ७३ अर्ब ६० करोडको तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ मा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार बैंकले स्थायी निक्षेपमार्फत रू. ३५ खर्ब २२ अर्ब ३५ करोड, निक्षेप संकलन बोलकबोलबाट रू. ११ खर्ब ५१ अर्ब २५ करोड तरलता प्रशोचन गरेको हो ।

समीक्षा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी स्थायी तरलता सुविधामार्फत रू. १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रू. ८ खर्ब ३ अर्ब ५६ करोड गरी कुल रू. ८ खर्ब ४ अर्ब ७६ करोड तरलता उपयोग गरेका छन् । फलस्वरुप, समीक्षा वर्षमा खुद रू. ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणमार्फत खुद रू. ५४ खर्ब ९ अर्ब ९९ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा वर्षमा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ८९ करोड खूद खरिद गरी रू. ७ खर्ब ८३ अर्ब ४७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ४५ करोड खूद खरिद गरी रू. ७ खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब २ करोड बिक्री गरी रू. ५ खर्ब ३५ अर्ब ७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ५६ करोड बिक्री गरी रू. ५ खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।