काठमाडौं विश्वविद्यलाय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं विश्वविद्यलाय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडाैं – प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको काठमाडौं विश्वविद्यालयको ९७ औँ सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न भनेका छन् । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो ।

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न भनेका थिए । प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटका अनुसार प्रधानमन्त्री ओलीले सिट क्षमता अनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिएका थिए ।

नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च डरलाग्दो गरी बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत चार अर्ब ३० करोड ९० लाख रूपैयाँ बजेट पारित भएको छ । यस्तै, सभाले आगामी २९ औँ दीक्षान्तका लागि विभिन्न संकायबाट दीक्षित हुने दुई हजार तीन सय १४ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ ।