काठमाडौं – नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक विद्युतीय मुद्रा ‘सीबीडीसी’ प्रयोगमा ल्याउन यसको प्रोटोटाइप (नमुना प्रणाली) तयार पारेको छ । अब यही प्रोटोटाइप परिमार्जन गर्दै सीबीडीसीलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने राष्ट्र बैंकको सीबीडीसी महाशाखाका प्रमुख कृष्णराम धुँजूले जानकारी दिए ।
राष्ट्र बैंकले सीबीडीसीसम्बन्धी सरोकारवालासँगको छलफलमा धुँजूले सीबीडीसी प्रणालीको इन्टरफेस (डिजिटल आवरण) पहिलो पटक सार्वजनिक समेत गरे । उनले लगइन स्क्रिन, एड्मिन र युजर ड्यासबोर्ड सार्वजनिक गरे ।
‘हामीले बेस प्रोटोटाइप भर्सन ०.१ विकास गरिसकेका छौं । यो होलसेल र रिटेल दुवै प्रकारको सीबीडीसीका लागि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यो ब्लकचेन हाइपरलेजर फ्याब्रिक प्लाटफर्म पूर्वाधारमा बनेको छ, यसमा कतिसम्म रकम राख्न पाइने भन्ने क्यापचाहिँ निर्धारण भइसकेको छैन ।’ राष्ट्र बैंकले जारी गर्ने सीबीडीसीको नाम पनि तय भइनसकेको उनले बताए । भारतीय रिजर्भ बैंकले आफ्नो सीबीडीसीको नाम ‘ई–रुपी’ राखेको छ ।
सीबीडीसी प्रणालीको प्रोटोटाइप इन्टरमिडिएटरी आर्किटेक्चर अर्थात् राष्ट्र बैंकले सिधै प्रयोगकर्तालाई डिजिटल मुद्रा उपलब्ध गराउने नभई बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउने मोडलमा विकास गरिएको जानकारी दिए । यस्ता मुद्रामा ब्याज प्राप्त नहुने र सुरुवाती चरणमा सामान्य कारोबारका लागि प्रयोगमा ल्याइने राष्ट्र बैंकको योजना छ ।



About Us
प्रतिक्रिया