बैंक अफ काठमाण्डूको नाफा घट्योः वितरणयोग्य नाफा ९ करोडले ऋणात्मक बन्दा शेयरधनी डुब्ने खतरा 

बैंक अफ काठमाण्डूको नाफा घट्योः वितरणयोग्य नाफा ९ करोडले ऋणात्मक बन्दा शेयरधनी डुब्ने खतरा 


बैकिङ्ग समाचार।

सरकारले लकडाउनका कारण ऋणीहरुलाई साँबा तथा कर्जाको किस्ता तिर्ने समय असार मसान्तसम्म बढाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुको नाफा प्रभावित बनेको छ।

बैंक अफ काठमाण्डूको खुद नाफा अघिल्लो चैतको तुलनामा २७.४९ प्रतिशतले घटेको छ भने पछिल्लो तीन महिनाको कमाईले बैंकको खर्च धान्न सकेको देखिन्न। 

बुधबार प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जबकी बैंकले गत आवको यसै अवधिमा १ अर्ब २० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकको नाफा ३३ करोड १२ लाख रुपैयाँले घटेको हो।

विओकेले चालु आर्थिक वर्षको तेस्रोे त्रैमास (माघदेखि चैत मसान्त) मा १ करोड ३ लाख २३ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ। गत आवको यहि ३ महिनामा बैंकले ४६ करोड ७१ लाखले खुद नाफा वृद्धि गरेको थियो।

चालु आवको चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक बनेको छ। ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप नियामकीय जगेडा कोषमा नै ७० करोड र अन्य बैधानीक जगेडामा २५ करोड ८५ लाख व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्न मिल्ने रकम ऋणात्मक बनेको हो।

बैंकले समीक्षा अवधिमा ८९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ।

चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २० करोड ७३ लाख रुपैयाँ सञ्चित छ। यस्तै बैंकको रिटेन्ड अर्निङ्ग ८ करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ।

पूँजी वृद्धिको अनुपातमा नाफा वृद्धिको प्रतिशत न्यून हुँदा बैंकको प्रतिशेयर आम्दानी १३.६३ रुपैयाँमा घटेको छ। गत आवको यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९.९२ रुपैयाँ थियो।

यस्तै प्रतिशेयर नेटवर्थ १५९. ९२ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १५.९९ गुणा, पूँजीकोष अनुपात १३.८२ प्रतिशत, खराब कर्जा अनुपात १.५३ प्रतिशत, आधारदर ९.३३ प्रतिशत, कोषको लागत ७.२८ प्रतिशत रहेको छ।