एक वर्षमा वाणिज्य बैंकलाई ऋणीहरुले बुझाए ५ खर्ब ८८ अर्ब रूपैयाँ ब्याज


काठमाडौं – गत आर्थिक वर्ष सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणअनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख ५० हजार रुपैयाँ ब्याज बुझाएका हुन् ।

यो अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ऋणीबाट वाणिज्य बैंकहरुलाई ५ खर्ब ५१ अर्ब ४९ करोड ३३ लाख ८२ हजार रुपैयाँ ब्याज बुझाएका थिए ।

सबैभन्दा बढी ऋणीहरुबाट ब्याज आम्दानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकलाई ऋणीहरुले यस अवधिमा ५१ अर्ब ४६ करोड १६ लाख २१ हजार रुपैयाँ ब्याज बुझाएका छन् । समिक्षा अवधिमा सबैभन्दा कम ब्याज स्ट्याण्डर्ड चार्टर्ड बैंककाे उठेकाे छ । बैंकले समिक्षा अवधिमा ११ अर्ब मात्र ब्याज उठाएकाे छ ।

यस्तै, धेरै ब्याज कमाउने बैंकमा नबिल बैंक दोस्रो नम्बरमा रहेकाे छ । नबिलले गत आर्थिक वर्षको असार महिनासम्ममा ऋणीहरुबाट ४६ अर्ब ३० करोड ३१ लाख २२ हजार रुपैयाँ ब्याज उठाएको हो । साे अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ४३ अर्ब ६ करोड ५६ लाख रुपैयाँ, कुमारी बैंकले ३८ अर्ब ६८ करोड रुपैयाँ, एनआइसी एशिया बैंकले ३८ अर्ब ३७ करोड रूपैयाँ, हिमालयन बैंकले ३५ अर्ब ५७ करोड, लक्ष्मी सनराइज बैंकले ३५ अर्ब ५ करोड रुपैयाँ, प्रभु बैंकले ३२ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २९ अर्ब र कृषि विकास बैंकले २७ अर्ब रुपैयाँ ब्याज उठाएकाे छ।

समिक्षा अवधिमा प्राइम , एनएमबि , सिद्धार्थनेपाल बैंकले २५– २५ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले २२ अर्ब, सानिमा बैंकले र सिटिजन बैंकले १९ अर्ब रुपैयाँ ऋणीहरुबाट ब्याज उठाएका छन् । नेपाल एसबिआई बैंकले १७ अर्ब माछापुच्छ्रे बैंकले १६ अर्ब ब्याज उठाएका छन् ।