‘ग्लोबल फिन्टेक फेस्ट २०२४’ मा संजीब सुब्बा वक्ताको रूपमा सहभागी हुँदै 


काठमाडौं – मिडिया अलाइन्सका संस्थापक अध्यक्ष एवम् नेपालका फिन्टेक विज्ञ संजीब सुब्बा ‘ग्लोबल फिन्टेक फेस्ट २०२४ मा वक्ताको रूपमा सहभागी हुने भएका छन् । आगामी अगस्ट २८ देखि ३० सम्म भारतको मुम्बईमा आयोजना हुने फेस्टमा सुब्बा वक्ताको रूपमा सहभागी हुने भएका हुन् । दुई दशकभन्दा लामो समयदेखि फिन्टेक क्षेत्रसँग आबद्ध सुब्बासँग बैंकिङ्ग, फिन्टेक , ग्रीन फाइनान्स लगायतका क्षेत्रको अनुभव छ ।

नेपालको फिन्टेक क्षेत्रको विकास, प्रवर्द्धनमा भूमिका खेल्दै आएका सुब्बाले ग्लोबल फिन्टेकमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताएका छन्। सुब्बा लेख्छन्,‘मैले ग्लोबल फिन्टेक फेस्टको स्थापना दिनदेखि नै बोल्दै आएको छु। यसमा सहभागी हुन पाउँदा निक्कै खुसी छु, साथै केही सिक्न र बढ्नको लागि तत्पर छु।’ सम्मेलनलाई  ज्ञान, अन्तर्दृष्टि, नेटवर्किङ, नवीनता र व्यापार विकास परिप्रेक्ष्यबाट सबैभन्दा प्रभावशाली कार्यक्रमको रूपमा लिइन्छ। जहाँ विभिन्न देशका २५० भन्दा बढी यस क्षेत्रसँग आबद्ध व्यतित्वहरु वक्ताको रूपमा सहभागी हुँदैछन् । हाल हुन गइरहेको  सम्मेलन ग्लोबल फिन्टेक फेस्टको पाँचौँ संस्करण हो। 

ग्लोबल फिन्टेक फेस्ट भारतको भुक्तानी परिषद् (PCI), नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया ((NPCI) फिन्टेक कन्भरजेन्ज काउन्सिल (FCC) द्वारा आयोजित वार्षिक फिनटेक सम्मेलन हो। सन् २०२२ मा सुरु भएको यो सम्मेलनको यो पाँचौ संस्करण हो। यो सम्मेलनलाई विश्वको सबैभन्दा ठुलो फिनटेक सम्मेलन र फिन्टेक परिदृश्यमा सबैभन्दा ठुलो विचार नेतृत्व प्लेटफर्मको रूपमा समेत लिइन्छ।

सम्मेलनमा सयौं सत्रहरूसँगै, मुख्य नोटहरू, प्यानल छलफलहरू र फायरसाइड च्याटहरू समावेश गर्दै, फिन्टेक उत्पादन प्रदर्शनी, लगानी पिचहरू, कार्यशालाहरू, विचार नेतृत्व रिपोर्टहरू र शैक्षिक कागजातहरू, र ह्याकाथनहरू समावेश छन्। साथै, सम्मेलनले ग्लोबल फिन्टेक अवार्ड्स पनि प्रदान गर्छ।