आत्मनिर्भर लघुवित्तको मुनाफामा गिरावट


काठमाडौं – आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को वर्ष चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार समिक्षा अवधिमा कम्पनीको मुनाफा ७१.२६ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत र अन्य सञ्चालन आम्दानी ३।६२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १४ करोड ८१ लाख रुपैयाँ सापटी र ८६ करोड १५ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५७ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ३७ पैसामा सीमित भएको छ। साथै, लघुवित्तको निष्क्रिय कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ।