काठमाडौं – गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परेतापनि अब निर्यातको परिमाण बढ्दै जाने बताए।
‘६/७ वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, ३ वर्षअघिबाट भारतीय प्रतिश्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरेतापनि निर्यातभन्दा आयात बढी भई खूद आयातकर्ता बन्ने अवस्था थियो, अब गत आवबाट खूद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भएतापनि यो महत्वपूर्ण उपलब्धी हो, ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुङ्गा हो’, कार्यकारी निर्देशक घिसिङले भने।
नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो। सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रुपमा पनि प्रवेश पाएको थियो। हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७ सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ। प्राधिकरणले १६ वटा आयोजनाहरुबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो।



About Us
प्रतिक्रिया