आइतबार पनि नआउने मौद्रिक नीति, कहिले आउँला ?


काठमाडौं – शुक्रबार मौद्रिक नीति आउने कुरा हल्ला मात्र भएको नेपाल राष्ट्र बैंकले बताएको छ। शुक्रबार मौद्रिक नीति आउने भन्ने कुरा आधिकारिक रुपमा राष्ट्र बैंकले नभनेको सूचना अधिकारी डा. डिल्लीराम पाेखरेलले बताए ।

सूचना अधिकारी डा. पोखरेलले बैंकिङ्ग समाचारसँग कुरा गर्दे भने, ‘ हामीले मौद्रिक नीति शुक्रबार आउने भनेर आधिकारिक जानकारी दिएका छैनौँ, विभिन्न पत्रपत्रिकामा आएका मात्र हुन्।’

सूचना अधिकारी डा. पाेखरेलले तयारी पुरा गर्न केही दिन लाग्ने भएकाले आगामी आइतबार पनि मौद्रिक निति नआउने जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेसँगै मौद्रिक नीतिमा उनले  चासो राखेकाे खबर बाहिरिएका छन्। याेसँगै डा. खतिवडाले पनि बिफ्रिङ गर्नुपर्ने भएकाले मौद्रिक नीति सार्वजनिकको मिति अर्को हप्तालाई सारिएको टिप्पणी भइरहेका छन्।