काठमाडौं – भक्तपुरकाे नलिनचोकमा रहेकाे हेलिप्याडमा उडान नगर्ने निर्णय पाइलटहरूले गरेका छन्। उच्च जोखिम रहेको भन्दै, पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएपछि बिहीबारदेखि उडान बन्द गरेका हुन् । पाइलटहरूका अनुसार हेलिपोर्टमा अत्यावश्यक सेवा र सुविधा अभाव, अवतरण र उडानमा समस्या, उच्च भू–भागसहितका अवरोधहरू, इन्धन भर्ने सुविधा नहुनु र साँघुरो ठाउँ लगायतका कारणले सुरक्षा जोखिम बढेको छ ।
यसरी सुरक्षा जाेखिम मानेर बन्द गराउनु पर्ने अवस्थामा पुगेकाे नलिचाेक हेलिप्याड सञ्चालनमा आएको धेरै भएकाे छैन । करिब १२ कराेड लागतमा बनाइएकाे हेलिप्याड प्राधिकरणाले असार ७ गतेदेखि सञ्चालनमा ल्याएकाे थियाे । प्राधिकरणले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त पनि गरेकाे थियाे । तर, एक सेवा प्रदायक भने प्राधिकरणले सुरक्षा मापदण्डमा बेवास्ता गरेको देख्दा छक्क परेकाे बताउँछन्। उनका अनुसार प्राधिकरणकै व्यवहारिकता नभएका कारणले असहज परिस्थिति सिर्जना भएको छ।
व्यवसायीहरू प्राधिकरणले कागजी हिसाबले भन्दा पनि सुरक्षाको हिसाबले सकारात्मक ढंगबाट सेवा प्रदानको वातावरण तय गर्न ढिला नगराेस् भन्ने चाहन्छन् । पाइलटहरूले पनि हेलिप्याड असुरक्षित रहेको र आधारभूत संरचना नै नभएको ठाउँमा वायुसेवा कम्पनीलाई जबरजस्ती सेवा प्रदान गर्न प्राधिकरणले फोर्स गर्न नहुने बताएका छन् ।
प्राधिकरणले समस्याहरू समाधान गर्न प्रक्रिया जारी राखेको बताउँदै, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘पाइलटले उठाएका विषयलाई पहिचानसहितको समाधान गर्नका लागि हिजो मात्र एउटा समिति गठन भएको छ। त्यसले महानिर्देशकलाई प्रतिवेदन बुझाउने निर्णय भएको छ। जसले सुरक्षा मापदण्डलाई ध्यानमा राखेर समस्या समाधान गर्न सुझाव दिनेछ।’ यसरी, पाइलटहरूले उच्च सुरक्षा जोखिमका कारण नलिनचोकको हेलिप्याडमा उडान नगर्ने निर्णय गरेका छन् भने प्राधिकरणले समस्या समाधानका लागि प्रयासरत रहेको जनाएको छ।



About Us
प्रतिक्रिया