काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर

बीमा रकम अपचलन र सम्पत्ति शुद्धीकरणमा दीपक भट्टविरुद्ध अर्को मुद्दा, ४५ करोड बिगो दाबी

सासुको नाममा ब्रोकेज कम्पनी खडा गरी फर्जी कारोबारबाट रकम फर्छ्यौट


काठमाडौं – व्यवसायिक लाभका लागि बीमा कम्पनीको रकम दुरुपयोग गरेको आरोपमा दीपक भट्टसहित विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध बीमा कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दायर भएको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणसहितको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान गरेपछि मुद्दा दायर भएको हो। 

अभियोगपत्रअनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई पुनर्बिमा ब्रोकेज कमिसनका लागि भन्दै विभिन्न चरणमा करिब २८ करोड रुपैयाँ पेश्की दिएको थियो। अनुसन्धानका क्रममा उक्त रकम वास्तविक बीमा व्यवसायसँग सम्बन्धित नभएको तथा झुटा कारोबार र कागजी लेखांकनमार्फत फर्छ्योट गरिएको दाबी गरिएको छ। अनुसन्धानमा एलियण्टले विभिन्न जीवन बीमा कम्पनीबाट व्यवसाय प्राप्त गरेको देखाउने आधारमा हिमालयन रिइन्स्योरेन्सले २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा ब्रोकेज खर्चका रूपमा लेखांकन गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ। तर, सम्बन्धित जीवन बीमा कम्पनीहरूले एलियण्टसँग त्यस्तो सम्झौता वा कारोबार नगरेको बयान दिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

अभियोगपत्रले एलियण्ट इन्स्योरेन्स ब्रोकर्सलाई दीपक भट्टको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रणमा रहेको र कम्पनीमार्फत रकम परिचालन गरी अन्ततः व्यक्तिगत लाभमा प्रयोग गरिएको आरोप लगाएको छ। भट्टले बीमा तथा पुनर्बिमा कोषको रकम दुरुपयोग गरी प्राप्त रकमलाई विभिन्न कम्पनी र लगानीमार्फत घुमाएर आफ्नो नियन्त्रणमा ल्याएको दाबी अभियोजन पक्षको छ। भट्टविरुद्ध बीमा कसुरतर्फ २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ। त्यस्तै सम्पत्ति शुद्धीकरणतर्फ उनले लाभ लिएको रकम २१ करोड १५ लाख रुपैयाँ कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम सजाय माग गरिएको छ।

अभियोगपत्रमा हिमालयन रिइन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन रामामूर्ति, उपासना पौडेल र कार्यकारी निर्देशक मनिष कुमारलाई समेत प्रतिवादी बनाइएको छ। रामामूर्ति फरार रहेको उल्लेख छ। उनीहरूमाथि कम्पनीको रकम दुरुपयोग तथा त्यसबाट प्राप्त रकमको गैरकानुनी स्रोत लुकाउनेलगायतका कसुरमा समान बिगो कायम गरी सजाय माग गरिएको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन सञ्चालक समितिका अध्यक्ष शेखर गोल्छासहित रोहित गुप्ता, साहिल अग्रवाल, अमित मोर, सुभाष कुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजिव मोर र साक्षी बंशल गुप्तालाई पनि प्रतिवादी बनाइएको छ। कम्पनीको वित्तीय प्रतिवेदन तथा निर्णयहरू अनुमोदन गरेर कथित कारोबारलाई वैधता दिएको अभियोजन पक्षको आरोप छ।

साथै, बीमा प्रधिकरणका तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवाललाई पनि प्रतिवादी बनाइएको छ। उनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण २०६८ ऐन, २०६४ को दफा ३० को उपदफा (९) बमोजिमको सजायको मागदाबी गरिएको छ।

एलियण्ट इन्स्योरेन्स ब्रोकर्सका सम्बन्धमा अञ्जना नेपाल, प्रमुख कार्यकारी अधिकृत सुधीर कुमार मल्लिक र आयुष्मा नेपाल भट्टलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूमाथि बीमा कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लगाइएको छ। अभियोगपत्रअनुसार मनोज कुमार अग्रवालले एलियण्टको खातामा २ करोड ४० लाख रुपैयाँ जम्मा गरेको तथा दीपक भट्टको लगानी लुकाउन आफ्नो कम्पनी फक्स ट्राभल एण्ड टुर्स प्रालिको नाममा गाडी खरिद गरी भट्टलाई प्रयोग गर्न दिएको आरोप छ। उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा मतियारका रूपमा अभियोग लगाइएको छ। मृदुला सरियामाथि पनि हिमालयन रिइन्स्योरेन्सको रकम दुरुपयोगमा संलग्न रहेको आरोप लगाइएको छ। अभियोजन पक्षले उनीविरुद्ध २१ करोड १५ लाख रुपैयाँ बिगो कायम गरी बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार सजाय माग गरेको छ। यसैगरी एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई कानुनी व्यक्ति प्रतिवादी कायम गर्दै कम्पनीलाई कथित गैरकानुनी रकमको कारोबार तथा स्रोत लुकाउने माध्यमका रूपमा प्रयोग गरिएको अभियोगपत्रमा उल्लेख छ।

अनुसन्धानका क्रममा दीपक भट्टको लगानी लुकाउन प्रयोग गरिएको भनिएको बा १९ च ३४०६ नम्बरको मर्सिडिज९बेन्ज गाडी समेत बरामद भएको र उक्त सवारी साधन जफत गर्न माग गरिएको छ। उक्त गाडी फक्स ट्राभल एण्ड टुर्स प्रालिको नाममा रहेको अभियोगपत्रमा उल्लेख छ।अनुसन्धानका क्रममा बैंकिङ्ग कारोबार, वित्तीय विवरण, लेखासम्बन्धी कागजात, नियामक निकायका छानबिन प्रतिवेदन तथा सम्बन्धित व्यक्तिहरूका बयानलाई आधार बनाएको अभियोग पत्रमा बताइएको छ। भट्टले आफ्नो हितमा रहने गरी उनी आफै वास्तविक धनी भई आफ्नो सासुका नाममा उक्त एलियण्ट इन्स्योरेन्स ब्रोकेज कम्पनी खडा गरी गराई सो रकम पेश्की दिलाई फर्जी एवं हुदै नभएको कारोवारको लेखांकन गरी पेश्की फर्छयौट गरेको खुल्न आएको छ।