बीमा ज्ञान : स्वास्थ्य बीमाको सुरुवाती चरण र यसको प्रक्रिया 

बीमा ज्ञान : स्वास्थ्य बीमाको सुरुवाती चरण र यसको प्रक्रिया 


काठमाडौं – स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्च व्यवस्थापन र  भावी दिनमा आउने जोखिमको  सुरक्षा साथै वित्तीय अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्त्वपूर्ण कार्यक्रम हो। सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात भएको हो। नेपालमा स्वास्थ्य बीमा वि.सं. २०७२ साल चैत्र २५ गते देखि बिमितलाई दर्ता सुरु गरी आ.व. २०७२/ ७३ कैलाली जिल्लाबाट कार्यक्रमको सुरुवात भएको थियो । उक्त आ.व. २०७२ /७३ देखि नै बागलुङ र इलाम जिल्ला पनि २०७३ साल असार १५ गते देखि दर्ता सुरु गर्न थालिएको थियो । यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ। यस कार्यलाई थप व्यवस्थित गर्न स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएको छ जुन स्वास्थ्य बीमा कार्यक्रमका लागि एउटा महत्त्वपूर्ण खुड्किलो हो। 

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने प्रक्रिया 
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन् दर्ता सहयोगीको सहयोग लिन सकिन्छ। स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारणहरू समावेश गर्नको लागि देशमा रहेका प्रत्येक वडामा एक जना दर्ता सहयोगीको व्यवस्था गरिएको छ। इच्छुकले वडामा कार्यरत दर्ता सहयोगहीरुलाई प्रत्यक्ष वा फोन मार्फत सम्पर्क गरी  बीमाको यथावत जानकारी लिन सकिन्छ।

नेपाल सरकार वा अन्तर्गतका निकायबाट जारी गरिएको आफ्नो परिचय खुल्ने परिचयपत्र दर्ता सहयोगीलाई उपलब्ध गराई बीमालेख फाराम भरि आफ्नो फोटो खिचाएर बीमा लेख फारम भर्न सकिन्छ । यसरी पहिलो माध्यमको सुरुवात हुन्छ। उक्त फारम  सम्पर्क शाखा कार्यालयमा दर्ता अधिकारीलाई पेस हुन्छ। 

पेस भएको बीमा अभिलेख फारम अनुसार बिमित्तको विवरण दर्ता अधिकारीले बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्नेछन्। बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि पछि स्वास्थ्य बीमा नीति अनुसार केही समय पछि सेवा सक्रिय हुनेछ। सेवा सक्रिय भए पछि बिमित्तले उल्लेख गरेको प्रथम सेवा विन्दु अर्थात् अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध हुने स्वास्थ्य सेवा लिन सक्नेछन्। उक्त सेवा एक वर्षका लागि हुनेछ र १ वर्ष पछि निरन्तर रूपमा नियमानुसार नवीकरण गरिराख्नु पर्नेछ।

स्वास्थ्य बीमा कार्यक्रमका फाइदाहरू
स्वास्थ्य बीमा कार्यक्रमले खर्च व्यवस्थापन र भावी दिनमा आउने जोखिमको  सुरक्षा प्रदान गर्न पनि सहयोग पुग्छ। विशेषतः बढ्दो बीमाको सचेतनामा बीमाको विषयमा सबैको ध्यानाकर्षण पनि बढ्दाे छ। साथै, दुर्घटना वा ठूलो रोगको सिकार हुनेले जोखिम आफैँ बेहोर्नु पर्दैन, स्वास्थ्य बीमाले उपचार खर्च नभएका कारण सेवाबाट वञ्चित हुनुपर्ने स्थितिको अन्त्य गर्छ । स्वास्थ्य बीमा कार्यक्रमले  स्वस्थ र उत्पादनशील जीवन जिउने अवसर प्रदान गर्छ । विभिन्न रोगहरूप्रति सचेत भई परामर्श तथा परिक्षण गरौँ भन्ने भाव विकास भई समयमा रोगको उपचार गर्न प्रेरित गर्छ ।  

नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको अवस्था

पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्ड लगायत सरकारको पनि ध्यानाकर्षण भइरहेको छ। स्वास्थ्य बीमाको दायरा बढाउन पहल भइरहेको छ। बोर्डका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को जेठ २० गतेसम्म स्वास्थ्य संस्थाले कूल ८ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी लिएका छन्। स्वास्थ्य बीमाको सुरुवात भएसँगै नेपालमा समाहित हुनेको सङ्ख्या ७१ लाख ८० हजार ५०२ जना रहेको छ।

यो नेपालको कुल जनसङ्ख्याको करिब २५ प्रतिशत हाे । प्रदेश अनुसार कोशी प्रदेशको जनसङ्ख्या ४ लाख ६१ हजार ४१२ रहेको छ । जहाँ बीमित्तको सङ्ख्या २१ लाख ८४ हजार ५०७ रहेको छ । यो तथ्याङकले कोशी प्रदेशमा ४४ प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँचमा पुगेकाे देखाउँछ ।

यसैगरी गण्डकी प्रदेशमा कुल जनसङ्ख्याको झन्डै ३८ प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँचमा रहेका छन्। त्यसैगरी क्रमशः बागमती प्रदेशमा झन्डै २५ प्रतिशत, कर्णाली प्रदेशमा झन्डै २५ प्रतिशत, लुम्बिनी प्रदेशमा झन्डै २१ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा झन्डै २० प्रतिशत र मधेस प्रदेशमा झन्डै ९ प्रतिशत जनता स्वास्थ्य बीमा कार्यक्रममा समाहित भएका छन्।