मोबाइल बैंकिङ्ग प्रयोगकर्ता एक महिनामै ३ लाख घटे, वालेटमा भने आकर्षण बढ्दो

मोबाइल बैंकिङ्ग प्रयोगकर्ता एक महिनामै ३ लाख घटे, वालेटमा भने आकर्षण बढ्दो

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या घट्दा वालेट प्रयोगकर्ताको भने बढेकाे छ । चैतको तुलनामा वैशाखमा वालेट प्रयोगकर्ताको संख्या ४ लाखले बढेको हाे।


काठमाडौं – चालु आर्थिक वर्षको वैशाख महिनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या करीब ३ लाखले घटेको हो। गत चैत मसान्तसम्म २ करोड ४० लाख ५३ हजार ६ सय २९ रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या वैशाखमा घटेर २ करोड ३७ लाख ९७ हजार ६ सय ८० मा खुम्चिएकाे छ ।

अघिल्लो वैशाखमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ थियो। गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको संख्या ३० लाख ३४ हजारले बढी हाे। गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो।

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताकाे संख्या घट्दा वालेट प्रयोगकर्ताको भने बढेकाे छ । चैतको तुलनामा वैशाखमा वालेट प्रयोगकर्ताको संख्या ४ लाखले बढेको हाे । गत चैतमा २ करोड २२ लाख ७७ हजार ४ सय ३२ वालेट प्रयोगकर्ता रहेकोमा वैशाखमा बढेर २ करोड २६ लाख १५ हजार १ सय २२ पुगेको छ।

इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या भने ३४ हजारले बढेको छ। हाल देशमा १९ लाख ३८ हजार जना इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता छन् । एक महिनाको अवधिमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ११ हजारले बढेर १२ लाख ५१ हजार ४ सय ४० कायम भएको छ । वैशाखसम्म मोबाइल बैंकिङ्गबाट ३ खर्ब २० अर्ब १९ करोड रुपैयाँ बराबरको भुक्तानी भएकाे छ। वालेट प्रयोग गरी २८ अर्ब रुपैयाँ भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।