ग्लोबल मनी विक २०२४ का अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विक २०२४ का अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं– विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले आइतबार हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले प्रस्तुतिकरण गरेका थिए ।

स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरी पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जिवनयापन सहज वनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो । उक्त कार्यक्रममा झापा जिल्लामा विभिन्न किसीमका नगदेवाली उत्पादनसँग सम्बन्धित १०० जना भन्दा बढी व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले कृषकहरुले वचत, ऋण तथा बैंकिङ्ग कारोबारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्नेमा जोड दिए ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनइजेसन अफ इकोनोमिक कपरेसन एण्ड डेभलोपमेन्ट (ओइसीडी) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ ।