काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप हुने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै एक वर्ष कर्जा अवधि थपिएको बताएको हो ।
ऋणीको आवश्यकता र औचित्यको आधारमा एक पटकको लागि कर्जाको भुक्तानी अवधि बढीमा एक वर्ष थप हुनेगरी २०८१ वैशाख मसान्तभित्र पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरिएको बैंकले बताएको छ ।
यसका लागि २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका कर्जाका लागि भुक्तानी गर्न बाँकी ब्याजको कम्तिमा पाँच प्रतिशत भुक्तानी गरी २०८० चैत्र मसान्तसम्म निवेदन दिइसक्नुपर्नेछ ।साथै, यो व्यवस्थाको कार्यान्वयनमा कुनै द्विधा भएमा वा सम्बन्धित संस्थाको कामकारवाहीउपर कुनै गुनासो भए नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया