काठमाडौं– चालू आर्थिक वर्षको फागुन महिनामा मात्रै ६ अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता प्रस्ताव आएको छ । फागुन महिनामा विभिन्न देशबाट १२ उद्योग–परियोजनामार्फत ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।
यस अवधिमा आठवटा पर्यटन क्षेत्रका, दुईवटा सेवा क्षेत्रका, एउटा पूर्वाधार र दुईवटा उत्पादनमूलक क्षेत्रका उद्योगबाट सो लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा दुई सय ५३ उद्योग–परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । जसमध्ये दुई सय ३८ साना, १२ मझौला र दुईवटा ठूला उद्योग परियोजना रहेका छन् ।
आठ महिनामा प्रस्तावित कुल विदेशी लगानीमध्ये सबैभन्दा धेरै १४५ परियोजनामार्फत पर्यटन क्षेत्रमा आएको छ । जुन कुल प्रस्तावित लगानीको ४५ प्रतिशत हुन्छ । यसैगरी सेवा क्षेत्रका ८८ परियोजनामार्फत ३५ प्रतिशत लगानी प्रतिबद्धता आएको छ भने उत्पादनमूलक ३० उद्योगमार्फत १२ प्रतिशत, खानीजन्य दुई परियोजनामार्फत १ प्रतिशत, पूर्वाधारका ६ परियोजनामार्फत २ प्रतिशत, सूचना प्रविधिका आठ परियोजनामार्फत ३ प्रतिशत र कृषिका चार परियोजनामार्फत २ प्रतिशत लगानी गर्ने प्रतिबद्धता आएको छ ।
प्रतिक्रिया