मुगु– मुगुमा अल्पकालीन आश्रयस्थल (सेफ हाउस) को आवश्यकता रहेको सरोकारवालाले बताएका छन् । सामाजिक विकास कार्यालय मुगुको आयोजनामा आज आयोजित लैङ्गिक समानता तथा सामाजिक समावेशीतासन्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले सदरमुकाम गमगढीमा सेफ हाउस निर्माणमा जोड दिएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा सुरक्षित घर बनाउन सके पीडितको सुरक्षाको सुनिश्चिता हुनुका साथै कानुनी उपचारका लागि सहज हुने बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले महिला हिंसा, घरेलु हिंसा र जबरर्जस्तीकरणी सम्बन्धिका पीडितलाई राख्न जिल्लामा सुरक्षित घर नहुँदा समस्या भएको बताए ।
छायानाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले सुरक्षित घर निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग बजेटको माग गरिन् । घर निर्माणपछि सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।
सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले तीनै तहका सरकारको आगामी वर्षको बजेट तथा कार्यक्रममा जिल्लामा सुरक्षित घर निर्माण र सञ्चालनका लागि व्यवस्था गरिदिन आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मन्जनबहादुर कार्कीको समेत उपस्थिति थियो । दुरदराजबाट दुई/तीन दिन हिँडेर कानुनी उपचार खोज्न सदरमुकाम गमगढी आउने पीडित जिल्लामा सुरक्षित घर नहुँदा झनै पीडित हुँने गरेका छन् । (रासस)
प्रतिक्रिया